तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा नेकपाको राष्ट्रिय जागरण अभियान कार्तिक २७ देखि

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले पार्टीको सङ्गठन सुदृढीकरण र गुमेको जनविश्वास पुनः स्थापित गर्ने लक्ष्यसहित जिल्लामा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । कार्तिक २७ गतेदेखि सुरु हुने अभियान जिल्लाका सातवटै कमाण्डमा सञ्चालन गरिने नेकपा कास्कीले जनाएको छ ।

नेकपाले अभियानमार्फत पार्टीको पुरानो जनआधार फर्काउने, सङ्गठनलाई चलायमान बनाउने र आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीलाई तयार पार्ने रणनीति लिएको नेकपा कास्कीका संयोजक रामजीप्रसाद बराल ‘जीवन’ले बताउनुभयो । अभियानमा स्थानीय नेताहरूले नेतृत्व गर्नुहुने भएको छ भने पार्टीका सबै जनवर्गीय सङ्गठनलाई परिचालन गरिने उहाँले जनाउनुभयो ।

यसैबिच, नेकपा कास्कीको सो अभियानको आइतबार नेकपाका गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभयो । उहाँले ‘चुपचाप घण्टी छाप’को भ्रमबाट मुक्त बनाउन अभियान सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । संविधान र व्यवस्थाको रक्षाका लागि पनि नेकपासहित पुराना पार्टीहरू पुनः जागृत हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

नेकपा कास्कीका पूर्व इन्चार्ज राजकाजी गुरुङले हिजो भएका कमीकमजोरी सुधार्दै पार्टीलाई सुदृढ बनाउनु यो अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो । कास्की सह-इन्चार्ज तेजकुमारी पौडेलले सङ्कटमा फसेको देशलाई उन्मुक्ति गराई सरकारले गरेका गलत कदम र कामकारबाहीको भण्डाफोर गर्न आवश्यक भएको बताउनुभयो ।

अभियानअन्तर्गत जिल्लाका सात वटै कमाण्डमा स्थानीय नेताहरूको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button