बागमती तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
रौतहट । मकवानपुरस्थित कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह खतराको तह नजिक पुगेपछि बाँधको ढोका खोल्नुपर्ने सम्भावना बढेको भन्दै रौतहट प्रशासनले बागमती नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जलाशयमा पानीको सतह निरन्तर बढ्दै गएपछि बाँधको ढोका खोल्नुअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी सम्भावित जोखिमबारे जानकारी गराउनुभएको थियो । त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गर्दै सूचना जारी गरेको हो ।
कुलेखानी जलाशयको बाँधबाट पानी छोडिएमा बागमती नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारका बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयाँलले जारी गर्नुभएको सूचनाअनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्र धोर्सिङ, मकवानपुरबाट प्राप्त जानकारीका आधारमा शनिबार दिउँसो १२ बजे जलाशयको जलसतह एक हजार ५२८ दशमलव १५ मिटर पुगेको थियो ।
जलसतह थप बढ्दै गए बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने र त्यसबाट बाँधको तल्लो तटीय क्षेत्रका सिस्नेरी खोला तथा बागमती नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने प्रशासनले जनाएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै रौतहट र सर्लाही प्रशासनले आ–आफ्नो जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान, सिस्नेरी खोला र बागमती नदी आसपासका मार्गमा रात्रिकालीन यात्रा नगर्न तथा नदीको बहाव क्षेत्रमा प्रवेश नगर्न अनुरोध गरिएको छ ।
त्यसैगरी नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने, चौपाया चराउने लगायतका गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्