तपाईँ सुन्दै हुनुहुन्छः

भीमफेदी–कुलेखानी सडक खण्ड भोली बिहानसम्मका लागि बन्द 

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडकखण्ड भोली बिहानसम्मका लागि बन्द गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी जलाशयमा पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै आज शनिबार साँझ ५ः०० बजेदेखि भोली आइतबार बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएको हो । 

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै उक्त अवधिमा सवारी सञ्चालन तथा यात्रा नगर्न आग्रह गर्नुभएको छ । बंगालको खाडीमा बनेको चक्रवात ‘अर्नब’को प्रभावका कारण मकवानपुरमा लगातार वर्षा भइरहेको छ । 

वर्षाका कारण कुलेखानी जलाशयको सतह बढेर बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने हुँदा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम रहेको छ । 

सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ । 

जलाशयको अधिकतम सतह १ हजार ५३० मिटर हो र शनिबार साँझसम्म १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button