तपाईँ सुन्दै हुनुहुन्छः

बडीमालिकामा भारी हिमपात : दर्शन गरेर फर्कँदै गरेका दुई युवा सम्पर्कविहीन

बाजुरा। धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका मन्दिरको दर्शन गरी फर्कने क्रममा कञ्चनपुरका दुई जना युवा पर्यटक सम्पर्कविहीन भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सम्पर्कविहीन हुनेहरूमा कञ्चनपुरको वेदकोट नगरपालिका, दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ निवासी २१ वर्षीय सागर कार्की रहेका छन्। उनीहरू गत असोज ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोलीसहित बडीमालिकातर्फ प्रस्थान गरेका थिए। टोलीका अन्य तीन जना भने सकुशल फर्किसकेका छन्।

समुद्री सतहबाट ४ हजार २ मिटरको उचाइमा अवस्थित बडीमालिका मन्दिर दर्शन गरी फर्कने क्रममा शुक्रबार मनिष बोहरा हराएका थिए। हराएका बोहराको खोजीका लागि त्रिवेणी पाटनमै रहेका सागर कार्कीसँग पनि गएरातिदेखि फोन सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

उक्त क्षेत्रमा भारी हिमपात र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिन चुनौती थपिएको छ। अलपत्र परेका दुवै जनाको खोजी तथा उद्धारका लागि सदरमुकाम मार्तडीबाट प्रहरी टोली खटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button