बारामा स्वास्थ्य कार्यालय उद्घाटनका क्रममा झडप: गोली लागेर १८ वर्षीय युवा गम्भीर घाइते, १० मोटरसाइकलमा आगजनी
बारा। बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत स्वास्थ्य कार्यालयको उद्घाटन कार्यक्रममा स्थानीयवासी र आयोजक पक्षबीच झडप हुँदा स्थिति उग्र बनेको छ। सो क्रममा गोली चल्दा एक युवा गम्भीर घाइते भएका छन् भने आक्रोशित भिडले १० वटा मोटरसाइकलमा आगजनी गरेको छ।

गोली लागेर घाइते हुनेमा स्थानीय धर्मेन्द्र पासवानका १८ वर्षीय छोरा आदित पासवान रहेका छन्। पेटमा गोली लागेका आदितको अवस्था गम्भीर रहेको र उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
१५ शय्याको उक्त स्वास्थ्य संस्थामा विद्युत् तथा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम पूर्ण रूपमा सम्पन्न नहुँदै हतार-हतार उद्घाटन गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए। विरोध प्रदर्शनकै क्रममा दुई पक्षबीच विवाद बढेपछि कार्यक्रमस्थलमा तनाव उत्पन्न भएको हो।

प्रदर्शनका क्रममा आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा पार्क गरी राखिएका १० वटा मोटरसाइकलमा आगजनी गरेका छन्। गोली प्रहार कसले र किन गर्यो भन्ने विषयमा खुलाउन प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
अस्पतालको पूर्वाधार निर्माण र सेवा सञ्चालनको पूर्वतयारी बिना नै उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयको असन्तुष्टि जारी छ। घटनापछि सो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आगजनीबाट भएको क्षतिको पूर्ण विवरण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्