तपाईँ सुन्दै हुनुहुन्छः

संघर्ष र सङ्कल्पको अर्को नाम: १६ वर्षमै एनपीएलमा छाइरहेका राहुल

'रौतहटको झुपडीदेखि एनपीएलको क्रिजसम्म: राहुल यादवको प्रेरणादायी कथा'

रौतहट। रौतहटको अजगैबी गाउँस्थित एउटा जीर्ण झुपडीमा यतिबेला खुसीयाली छाएको छ। झुपडीको आँगनमा गाउँलेहरूको चहलपहल बढेको छ। उत्सवमय यो माहोलको कारण हुन्– १६ वर्षीय क्रिकेट प्रतिभा राहुल यादव।

कुनै समय टेलिभिजन र मोबाइलमा ठूला क्रिकेटरको खेल हेरेर रोमाञ्चित हुने राहुल अहिले तिनै स्टार खेलाडीहरूसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रतिस्पर्धा गरिरहेका छन्।

“पहिले क्रिकेटमा के भविष्य होला र भन्ने लाग्थ्यो, तर अहिले छोराले देशभर नाम कमाएको छ। टेलिभिजनमा उसको बलिङ र प्रदर्शन देख्दा छाती गर्वले फुल्छ,” वीरबहादुरले भावुक हुँदै भन्नुभयो, “भगवान्सँग एउटै प्रार्थना छ– मेरो छोरा एक दिन राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय मञ्चमा खेलोस् र देशको नाम उच्च राखोस्।”

छोराको यो अप्रत्याशित सफलताले बुबा वीरबहादुर यादव गद्गद् हुनुहुन्छ। राहुलको खेल हेर्न मोबाइलको पर्दामा आँखा ओछ्याइरहनुहुने वीरबहादुरलाई बधाई दिन यतिबेला घरमै गाउँलेको घुइँचो लाग्ने गरेको छ। कुनै समय छोराको क्रिकेटमोहप्रति अन्योलमा पर्नुभएका वीरबहादुर अहिले छोराको उत्कृष्ट प्रदर्शन देखेर गर्वले छाती चौडा भएको बताउनुहुन्छ।

आर्थिक रूपमा कमजोर वीरबहादुरको परिवारसँग जम्मा १२ कठ्ठा खेतीयोग्य जमिन छ। टाइलले छाएको दुई कोठे कच्ची घरको एउटा कुनामा सजाइएका ट्रफीहरूले राहुलको कठिन सङ्घर्ष र दृढ सङ्कल्पको कथा भनिरहेका छन्। छोराको क्रिकेट सपना पूरा गर्न दुई वर्षअघि राहुलले आफ्नो भागमा पर्ने जमिन बेचेर भए पनि एकेडेमीमा प्रशिक्षणको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। आर्थिक अभावका कारण जमिन बेच्न नसके पनि परिवारले आफ्नो क्षमताले भ्याएसम्म उसको मिहिनेतलाई सधैँ साथ दिइरह्यो।

१२ वर्षको उमेरदेखि नै क्रिकेट बलसँग रमाउन थालेका राहुलले आफ्नो जग बलियो बनाउन भारतको दिल्ली र लखनउसम्म पुगेर प्रशिक्षण लिएका थिए। पछि चन्द्रपुर क्रिकेट एकेडेमीबाट आफ्नो खेललाई थप निखारेका उहाँ मधेश प्रदेशको अन्डर–१६ प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ समेत बनेका थिए।

राहुलको एनपीएल यात्रा पनि कम रोचक छैन। जनकपुर बोल्ट्सले आयोजना गरेको प्रतिभा छनोट (ट्यालेन्ट हन्ट) कार्यक्रममा ४ सय ४६ भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै अन्तिम सातमा पर्न सफल भएपछि उहाँ एनपीएल टोलीमा आबद्ध हुनुभएको हो।

एनपीएलको मैदानमा ओर्लिएपछि राहुलले आफूलाई टोलीको मुख्य हतियारका रूपमा प्रमाणित गरिसक्नुभएको छ। कर्णालीविरुद्धको पहिलो खेलमै दुई विकेट लिएर प्रभावशाली सुरुवात गर्नुभएका उहाँले काठमाडौंविरुद्धको खेलमा ४ ओभरमा ३१ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट चटकाउनुभयो। सो क्रममा राष्ट्रिय टोलीका अनुभवी ब्याटर करण केसीलगायतका खेलाडीलाई आउट गर्दै उहाँले आफ्नो क्षमता र सम्भावनाको स्पष्ट खाका कोर्नुभएको छ।

छोराको यो सफलताले बुबाको त्याग र राहुलको वर्षौँदेखिको अथक मिहिनेतलाई सार्थकता दिएको छ। अब परिवार र गाउँलेको एउटै चाहना छ– राहुल एनपीएलमा मात्र सीमित नरहेर चाँडै नेपाली राष्ट्रिय टोलीको नीलो जर्सी पहिरिँदै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देशको प्रतिनिधित्व गर्न सफल हुन्। झुपडीको आँगनबाट सुरु भएको राहुलको यो यात्रा अन्तर्राष्ट्रिय सफलताको शिखरतर्फ अघि बढोस् भन्ने कामना सबैको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button