तपाईँ सुन्दै हुनुहुन्छः

घरबारविहीनको पीडा: होल्डिङ सेन्टरमै बित्यो दसैँ, तिहार पनि टहरामै मनाउनुपर्ने चिन्ता

बाँके। गाउँबस्ती र घरआँगनमा दसैँको रौनक सकिएर तिहारको चहलपहल सुरु भइसकेको छ। परदेशिएका आफन्त घर फर्किँदै छन् भने बजारमा किनमेलको चटारो बढेको छ। घरघरमा सरसफाइ, देउसीभैलो र दाजुभाइ–दिदीबहिनीबीचको भेटघाटको चटारो छ। तर, बाँकेको कोहलपुरस्थित होल्डिङ सेन्टरमा छ महिनादेखि बस्दै आएका सुकुम्बासी परिवारका लागि भने चाडपर्वको खुसीभन्दा घरबासको चिन्ताले सताएको छ। न बस्ने गतिलो ठाउँ छ, न त परिवारसँग रमाएर चाडपर्व मनाउने वातावरण। उनीहरूका लागि यस वर्षको दसैँ अभाव र पीडामै बित्यो, अब तिहार पनि टहरामै बित्ने निश्चितप्रायः छ।

आफन्तसँग बसेर दसैँ मनाउने रहर पूरा नभए पनि तिहारमा परिवारसँग रमाउने र नयाँ आशा जगाउने उनीहरूको चाहना थियो। तर, ओत लाग्ने आफ्नै छानो नहुँदा त्यो चाहना पनि अन्योलमा परेको छ। बाँकेको कोहलपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारका लागि चाडपर्व खुसीभन्दा बढी पीडा र अनिश्चितताको पर्याय बनेको छ।

कोहलपुर नगर विकास समितिको २८ बिघा जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका उनीहरू गत वैशाखमा बस्ती हटाइएपछि विस्थापित भएका हुन्। वर्षौँदेखि बस्दै आएको घर छाड्नुपरेपछि उनीहरू अहिले अस्थायी आश्रयस्थलमा जीवन गुजारिरहेका छन्। कोहलपुर नगरपालिकाका अनुसार लगत सङ्कलनमा समेटिएकामध्ये हाल १०२ विस्थापित परिवार कोहलपुर बसपार्क, नगर विकास समिति र दीपशिखा आधारभूत विद्यालयमा बनाइएका होल्डिङ सेन्टरमा बसोबास गरिरहेका छन्।

एउटै कोठामा धेरै जना कोचिएर बस्नुपर्ने बाध्यता छ। पर्याप्त ठाउँको अभावमा दैनिक घरायसी काम गर्न, बालबालिकालाई पढाउन र वृद्धवृद्धालाई आराम गर्नसमेत कठिनाइ भइरहेको छ। चाडपर्वमा घर लिपपोत गर्ने, नयाँ लुगा लगाउने र परिवारसँग बसेर मीठोमसिनो खाने रहर उनीहरूका लागि सपना जस्तै बनेको छ।

होल्डिङ सेन्टरमा बस्दै आएकी कल्पना कामी र बिर्मा विकका लागि दसैँले खुसीभन्दा बढी अभावको अनुभूति गरायो। आफ्नै घरमा बसेर परिवार र आफन्तसँग चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि अस्थायी आश्रयमा बस्नुपर्दा उनीहरूको मन अमिलो बनेको छ। सुरक्षित बसोबासको व्यवस्था नहुँदा भविष्यप्रतिको चिन्ता थप बढेको उनीहरू बताउँछन्।

७० वर्षीया मिना दमाईलाई पनि जीवनको उत्तरार्धमा यसरी घरबारविहीन हुनुपर्ला भन्ने लागेको थिएन। बुढेसकालमा आफ्नै घरमा आरामसँग बस्ने चाहना भए पनि अहिले साँघुरो ठाउँमा दिन काट्नु परेको उहाँको गुनासो छ। “ठाउँ अभावले दैनिक जीवनयापन मात्र होइन, धार्मिक तथा पारिवारिक संस्कारसमेत गर्न पाइएको छैन,” उहाँले भन्नुभयो।

अन्य घरमा दसैँ–तिहारको खुसी छाइरहँदा यहाँका बालबालिका, महिला र ज्येष्ठ नागरिक भने आफ्नो भविष्य कहाँ र कसरी बित्ने हो भन्ने चिन्तामा छन्। त्यसैले विस्थापित परिवारले तत्कालका लागि सुरक्षित आश्रय र दीर्घकालीन रूपमा स्थायी बसोबासको व्यवस्थापन गरिदिन सरकारसँग माग गरेका छन्।

यता, विस्थापित परिवारको समस्या समाधानका लागि वास्तविक भूमिहीन दलित तथा सुकुम्बासीको पहिचान गर्ने काम भइरहेको कोहलपुर नगरपालिकाले जनाएको छ। विभिन्न जिल्ला तथा स्थानीय तहबाट विवरण माग गरिएको र प्राप्त विवरणका आधारमा बसोबास व्यवस्थापनका लागि ऐलानी वा सरकारी जग्गाको खोजी भइरहेको नगरपालिकाको भनाइ छ।

नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार विस्थापित परिवारको विवरण सङ्कलन तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ। यद्यपि, आफूहरूको स्थायी बसोबास कहिलेसम्म हुन्छ भन्नेमा पीडितहरू अझै स्पष्ट र ठोस जवाफको प्रतीक्षामा छन्।

घर केवल घामपानीबाट जोगिने छानो मात्र होइन, परिवारको सुरक्षा, आत्मसम्मान र सामाजिक जीवनको आधार पनि हो। घर नहुँदा चाडपर्वको खुसी मात्र खोसिँदैन, बालबालिकाको भविष्य र वृद्धवृद्धाको जीवनसमेत जोखिममा पर्छ। अरूका घरमा दीपावलीका दियो बलिरहँदा होल्डिङ सेन्टरका विस्थापित भने आफ्नै घरको आँगन कहिले उज्यालो होला भन्ने पर्खाइमा छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button