नरैनापुरमा करदाता सेवा केन्द्र सञ्चालन, पहिलो व्यावसायिक प्यान प्रमाणपत्र जारी
बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र सञ्चालनमा आएसँगै पहिलोपटक व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरिएको छ ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार करदाता सेवा केन्द्रमार्फत गाउँपालिकामा औपचारिक रूपमा करसम्बन्धी सेवा सुरु भएको हो ।
सेवा शुभारम्भसँगै गाउँपालिका–२, बेउचहवास्थित मदिना परफ्युम एण्ड जनरल स्टोरकी सञ्चालक जन्नतुल पठानिनलाई पहिलो व्यावसायिक प्यान प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
गाउँपालिकामै करदाता सेवा केन्द्र सञ्चालन भएपछि व्यावसायिक प्यान लिन तथा करसम्बन्धी सेवा प्राप्त गर्न अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
यसबाट स्थानीय व्यवसायीलाई कर प्रणालीमा आबद्ध हुन सहज हुनुका साथै व्यवसायको औपचारिकता र कर प्रशासनको पहुँच विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्