तपाईँ सुन्दै हुनुहुन्छः

मिस्त्री खोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा  मिस्त्री खोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढा मगरको मृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिनुभयो ।

“दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरूलाई मिस्त्री खोलाले बगाएर बेपत्ता बनाएको हो,” उहाँले भन्नुभयो, “अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ ।” मृतक र बेपत्ता बालिका दुई बहिनीका छोरीहरू हुन् ।

सो घटनाको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी समेतको सहभागितामा बालिकाको खोजी भइरहेको छ ।

यसैबीच, नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्री खोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण घटना भएको बताउनुभयो । “बिहान सुकेको खोलामा जलविद्युत् आयोजनाले पूर्व सूचना बिनै बाँधबाट एक्कासि पानी छोडेका कारण बालिकाहरूलाई बगाएको हो,” उहाँले भन्नुभयो ।

सो घटनाको सन्दर्भमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button