तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका एसपी अंगुर जिसी ‘पूर्णशान्ति पुरस्कार’बाट सम्मानित, धनौली प्रहरी कार्यालय देशकै उत्कृष्ट

बाँके । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी ‘पूर्णशान्ति पुरस्कार’बाट सम्मानित हुनुभएको छ। यसैगरी, बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली देशभरका इलाका प्रहरी कार्यालयमध्ये उत्कृष्ट घोषित भएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्नुभएको हो। जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अनुसन्धान तथा प्रहरी सेवालाई प्रभावकारी बनाउन पुर्‍याउनुभएको योगदानको कदरस्वरूप उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

त्यसैगरी, प्रहरी दिवसकै अवसरमा इलाका प्रहरी कार्यालय धनौलीले देशभरका इलाका प्रहरी कार्यालयमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै प्रतिष्ठित ‘पुलिस ब्याटन’ प्राप्त गरेको छ।

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक नवीनप्रकाश चापागाईंलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा रहेका इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र प्रहरी प्रभागबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा धनौलीले उत्कृष्ट नतिजा हासिल गरेको जनाइएको छ।

प्रहरी कार्यालयहरूको मूल्याङ्कन गर्दा नेतृत्व क्षमता, जनशक्ति परिचालन, संगठनात्मक अनुशासन, जिम्मेवारीबोध, इमानदारी, व्यावसायिक दक्षता तथा नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारितालगायतका पक्षलाई आधार बनाइने गरिएको छ।

प्रहरी निरीक्षक चापागाईंको नेतृत्वमा धनौलीले हासिल गरेको उपलब्धिलाई प्रभावकारी कार्यसम्पादन र संगठनात्मक जिम्मेवारीको महत्त्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

प्रहरी सेवामा व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने सम्मानले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एउटै प्रहरी दिवसको अवसरमा बाँकेका प्रहरी प्रमुख सम्मानित हुनु र जिल्लाकै इलाका प्रहरी कार्यालय धनौली देशभरमै उत्कृष्ट घोषित हुनुले बाँके प्रहरी संगठनका लागि दुई महत्त्वपूर्ण उपलब्धि थपिएका छन्। यी उपलब्धिले नागरिकमैत्री प्रहरी सेवा प्रवाह, अपराध नियन्त्रण र प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button