चाडपर्वमा खानपानको सावधानी: जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका उपयोगी सुझावहरू

काठमाडौँ I चाडपर्वका बेला मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरू समयका तुलनामा बढी हुने भएकाले विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छ ।
दसैँ तिहार लगायतका चाडपर्वमा चिल्लो, मसालेदार तथा गुलिया खानेकुराहरू बढी खाँदा दीर्घकालीन रोगहरू समेत निम्तिन सक्ने भएकाले खानेकुरामा विशेष ध्यान दिन जनस्वास्थ्यविद्को सुझाव रहेको छ ।
दसैँ भन्ने वित्तिकै अन्य समयको तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरूको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान दिँदा स्वास्थ्यप्रति भने पर्याप्त सचेतना अपनाएको पाइँदैन । चाडबाडका नाममा शरीरलाई चाहिनेभन्दा बढी खानेकुराहरू खाने, शारीरिक सक्रियता र व्यायाम नगर्ने अनि नियमित औषधि सेवनमा समेत ध्यान नदिने कारणले गर्दा विभिन्न अल्पकालीन तथा दीर्घकालीन रोगहरू लाग्न सक्छन् भने मुटुरोगको जोखिम थप बढ्न सक्ने विशेषज्ञहरू बताउँछन् ।
दसैँ तिहारपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्ने गरेका प्रायमा मधुमेह, उच्च रक्तचाप लगायतका रोग देखिने गरेको स्मरण गर्दै जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले चाडपर्वका समयमा मासु खाँदा कम चिल्लो र थोरै मसाला प्रयोग गर्न, धेरै गुलिया मिठाइहरू नखान, चिसो खानेकुराहरू नखान र सरसफाईमा विशेष ध्यान दिन सुझाव दिनुहुन्छ ।
“उहाँ भन्नुहुन्छ, मासु, मिठाई लगायतका खानेकुराहरू सुरक्षित रूपमा राखेर मात्रै खानुपर्छ, यदि खानेकुरा सफा र स्वस्थ भएन भने फुडपोइजनजस्ता समस्या देखिन सक्छ ।”
चाडपर्वका समयमा धेरै प्रकारका खानेकुराहरू बनाइने भएकाले थोरै थोरै खादा पनि त्यसबाट प्राप्त हुने क्यालोरी, प्रोटिन लगायतका तत्त्व शरीरले पचाउन सक्नेभन्दा बढी हुने भएकाले सन्तुलित खानपान, नियमित व्यायाम, रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोलको नियन्त्रण र धूमपान तथा मदिराको सेवनबाट टाढा रहन जनस्वास्थ्यविद्हरुले सुझाइरहेका हुन्छन् ।
तर चाडपर्वका समयमा अन्य कुराभन्दा खानपानमा बढी ध्यान दिँदा स्वास्थ्यमा समस्या देखिने गरेको छ । त्यसैले चाडपर्वका समयमा सन्तुलित खानपानका साथै सफा पानी, हातको सरसफाइ लगायतमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी ।
उहाँ भन्नुहुन्छ “हातको सरसफाईमा ध्यान नदिँदा आफुलाईमात्रै नभएर अरूलाई पनि बिरामी पार्ने भएकाले हातको सरसफाइ अत्यन्त जरुरी छ । धेरै मासु खाँदा त्यसमा भएको चिल्लो र मसालाको कारण पनि स्वास्थ्यमा थप समस्या देखिने भन्दै सन्तुलित रूपमा आफ्नो शरीरले पचाउँन सक्ने गरी मात्रै खान र पानी तताएर पिउँन पनि डा. मरासिनी सुझाव दिनुहुन्छ ।”
मनाउन जानेमा चाडपर्व मनाउनु राम्रो हो तर नजानेमा यसले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर पुर्याइरहेको हुन्छ । पछिल्लो समय चाडपर्व मनाउने शैली फेरिएको छ भने हाम्रो दैनिकी र जीवनशैली पनि फेरिएको छ । खाने, बस्ने तर कुनै व्यायाम नगर्ने, खाएअनुसार हिँडडुल नगर्ने गर्दा खाना बढ्ने र व्यायाम घट्ने जीवनशैलीले अहिले कम उमेरमै मधुमेह, उच्च रक्तचाप, कलेजोको समस्या, तौल बढी हुने समस्या हृदयाघातको सिकार हुने लगायतका समस्याहरू देखिन थालेको छ । त्यसैले चाडपर्वका नाममा स्वास्थ्यमा समस्या आउने गरी खानेकुराहरू नखान र सन्तुलित आहारमा ध्यान दिन विशेषज्ञहरूको सुझाव छ ।








प्रतिक्रिया राख्नुहोस्