बाँकेका प्रहरी प्रमुख जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’
काठमाडौँ। शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन र प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएबापत जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक अङ्गुर जिसी पुरस्कृत हुनुभएको छ ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले उहाँलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गर्नुभयो ।
प्रहरी उपरीक्षक जिसीको नेतृत्वमा बाँके प्रहरीले ‘इन्तजार मोहम्मद अरबी खाँको हत्या’, ‘सिर्जना बुढा मगरलाई जलाएर मारिएको घटना’, ‘अफ्सना बस्नेतको अपहरण तथा हत्या’ र ‘विशाल चन्द ठकुरीको हत्या’मा संलग्न फरार अभियुक्तलाई पक्राउ गरी सफल अनुसन्धान गरेको थियो ।
गृहमन्त्री गुरुङले ‘योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार’ प्रहरी चौकी कोठियाघाट, बर्दियामा कार्यरत प्रहरी सहायक हबल्दार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाशसिंह महरालाई प्रदान गर्नुभयो ।
यस्तै ‘मोतिलाल प्रहरी उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कारबाट इलाका प्रहरी कार्यालय रातापानी मुगुमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्धबहादुर बुढा पुरस्कृत हुनुभयो । उक्त पुरस्कारको राशी रु ५१ हजार रहेको छ ।
यसवर्षको ‘मोतिकला मिथिला अमर प्रहरी छात्रवृत्ति’ अशक्त प्रहरी नायब निरीक्षक हितबहादुर तामाङकी सुपुत्री विदुर नगरपालिका–११ घर की छात्रा आशिका लामा र अमर प्रहरी जवान विन्देश्वर साहका सुपुत्र सर्लाहीको विष्णुुपुर गाउँपालिका–६ का अनजयकुमार साहलाई प्रदान गरियो । सो छात्रवृत्तिको राशि वार्षिक रु एक लाख रहेको छ ।
कार्यक्रममा गृहमन्त्री गुरुङले ‘अच्युत मीना अमर प्रहरी पुरस्कार’ अमर प्रहरी पदमबहादुर साउँदको सुपुत्र कैलालीका विप्लव साउँद र अमर प्रहरी रामबहादुर साउँदको सुपत्री अछामकी रञ्जना साउँद तथा ‘अच्युत मीना अमर प्रहरी छात्रवृत्ति’ अमर प्रहरी शेरसिंह साउँदको सुपुत्र बैतडीका अनिल साउँद र अमर प्रहरी रामबहादुर साउँदकी सुपुत्री कैलालीकी नवीना साउँदलाई जनही रु ५१ हजारको पुरस्कार र छात्रवृत्ति प्रदान गर्नुभयो ।
त्यसअघि गृहमन्त्री गुरुङले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । नेपाल प्रहरीको एक टुकडीले गृहमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।
प्रहरीलाई विभिन्न कार्यालय स्थापनाका लागि यसवर्ष ३५ सहित ४२८ जनाले जग्गा दान गर्नुभएको सो कार्यक्रममा जानकारी दिइयो । विभिन्न कालखण्डमा एक हजार ७९८ अमर प्रहरीले कर्तव्य पालनको सिलसिलामा वीरगति प्राप्त गर्नुभएको छ ।
यसवर्ष प्रहरी नायब निरीक्षकसहित पाँच जनाले वीरगति प्राप्त गर्नुभएको छ भने २५ जना प्रहरी कर्मचारी बेपत्ता हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्