तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

उदयपुर  । उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। 

मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ स्थित सुर्खे खण्डमा आज दिउँसो बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–००६ ख ८५२२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईँका अनुसार दुर्घटनामा घाइते भएका चौदण्डीगढी नगरपालिका–वसाहा निवासी १८ वर्षीय सोनु बस्यालको उपचारका क्रममा मृत्यु भएको हो ।

बसमा ३५ जना सवार रहेकोमा दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य १३ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस कसरी अनियन्त्रित भई दुर्घटना भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button