तपाईँ सुन्दै हुनुहुन्छः

लिग–२ मा नेपालको लगातार दोस्रो जीत, ओमानमाथि शानदार जीत

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो ।

नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो । ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए । ४१ रनमा ६ विकेट गुमाएको ओमानका लागि शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरे ।

नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका रोहित पौडेलले ६१, अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले ३७–३७ रन बनाए । करण केसीले १६ बलमा आक्रामक ४० रन जोडे ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानडालाई २४ रनले हराएको थियो ।

लगातार दुई जीतसँगै नेपालले लिग–२ मा ३४ खेलबाट २८ अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान ३० खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छन् ।

लिग–२ को शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन भने शीर्ष छभित्र रहनुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button