इसिमोडको अध्ययन : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन
काठमाडौँ । गत भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा गएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले आज सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्मको ४८ दिनको अवधिमा ‘सेन्टिनेल–१’ भूउपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उक्त क्षेत्रको सतहमा ४० सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा ‘सन् २०२६ अगस्ट २६ को केरुङ–रसुवा विपद् बुझाइ’ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो ।
अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । त्यसले चट्टान, बरफ, पानी र गेग्र्यानसहितको तीव्र बहाव सिर्जना गर्दै नेपाल–चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो ।
अध्ययनले उक्त घटनालाई परम्परागत हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) नभई चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न भएको शृङ्खलाबद्ध विपद्का रूपमा पहिचान गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त विपद्मा नेपालतर्फ कम्तीमा एक हजार ४५१ जनाको मृत्यु भएको छ भने पाँच हजार ७४५ जना बेपत्ता छन् । चीनतर्फका अधिकारीले ४३ जनाको मृत्यु र ५१९ जना बेपत्ता भएको जानकारी दिएका थिए ।
अध्ययनमा भूउपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जल विज्ञानसम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपद्को कारण, प्रभाव र पूर्वसूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ ।
भूउपग्रहबाट पहाडको सतहमा भएको विस्थापन पत्ता लागे पनि त्यसका आधारमा पहिरो वा चट्टान खस्ने घटना ठ्याक्कै कहिले हुन्छ भन्ने पूर्वानुमान गर्न नसकिने अध्ययनले स्पष्ट पारेको छ । यद्यपि, यस्ता प्रविधिबाट जोखिमयुक्त पहाडी भिर पहिचान गरी थप निगरानी गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ ।
अध्ययनअनुसार लाङटाङ लिरुङमा चट्टान र बरफ खस्ने घटना नेपाली समयअनुसार बिहान ८ः३७ बजे भएको थियो । त्यसबाट उत्पन्न गेग्र्यानसहितको बाढी करिब सात मिनेटमै सीमावर्ती क्षेत्रमा पुगेको थियो । मोबाइल सन्देशमार्फत पूर्वसूचना बिहान ९ः१५ देखि ९ः१६ बजेतिर पठाइएको थियो, जुन सीमावर्ती क्षेत्र प्रभावित भइसकेको करिब २५ देखि ३० मिनेटपछिको समय हो ।
वर्षा र नदीको जल सतहमा आधारित विद्यमान पूर्वसूचना प्रणालीले अचानक हुने पर्वतीय चट्टान पतन र हिमनदी भत्किने घटनाको जोखिम पहिचान गर्न नसक्ने अध्ययनले औँल्याएको छ । त्यसैले भूउपग्रह निगरानी, भूकम्पीय अवलोकन, जल विज्ञानसम्बन्धी तथ्याङ्क, प्रभावमा आधारित पूर्वानुमान तथा सीमापार सूचना आदानप्रदानलाई एकीकृत गर्नुपर्ने सुझाव दिइएको छ ।
चट्टान खस्नुका सम्भावित कारणमा भूगर्भीय कमजोरी, सन् २०१५ को भूकम्पबाट भएको क्षति, पर्माफ्रोस्ट अर्थात् जमेको जमिन पग्लिनु, हिमनदीमा आएको परिवर्तन तथा हिउँ र बरफ क्रमशः जम्मा हुँदै जानु हुन सक्ने अध्ययनमा उल्लेख छ । यद्यपि, घटनाको एउटै निश्चित कारण पुष्टि भइसकेको छैन ।
यसैबीच, सन् २०२५ जुलाईमा पेरिपु क्षेत्रमा हिमनदीको सतहमा बनेको तालबाट पानी निस्किएर बाढी आएको थियो भने सन् २०२६ अगस्टमा लाङटाङ लिरुङबाट चट्टान र बरफ खसेर सोही सीमावर्ती करिडोरमा अर्को विनाशकारी विपद् भएको थियो । यी दुई घटनाले १३ महिनाभित्र फरक प्रकृतिका दुई ठूला सीमापार विपद् सामना गर्नुपरेको देखाएको छ ।
बुढीगण्डकी जलाधार क्षेत्रमा पनि चट्टान र हिमनदी खस्ने छुट्टै घटना भएको भूउपग्रह तस्बिरबाट पुष्टि भएको अध्ययनमा उल्लेख छ । उक्त घटनाको क्रम, प्रभाव तथा भविष्यमा जोखिम न्यूनीकरणका लागि आवश्यक उपायबारे थप अध्ययन भइरहेको छ ।
इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख च्याङगोङ झाङले भूउपग्रहबाट प्राप्त तथ्याङ्क र वैज्ञानिक विधिले विगतका विपद् बुझ्न मात्र नभई भविष्यमा जोखिमयुक्त हुन सक्ने क्षेत्र पहिचान गर्न पनि सहयोग पुग्ने बताउनुभएको छ ।
इसिमोड र चीनस्थित साझेदार संस्थाको संयुक्त टोलीले यसै साता विपद् प्रभावित क्षेत्रमा थप प्रमाण सङ्कलन गर्न स्थलगत अध्ययन सुरु गर्ने जनाइएको छ । उक्त अध्ययनले जोखिमयुक्त क्षेत्र पहिचान, निगरानी तथा हिन्दूकुश हिमालय क्षेत्रमा पूर्वसूचना प्रणाली सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्