मधेश प्रदेशका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र आवासमा कमजोर पहुँच
जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, आवास तथा सरसफाइको अवस्था राष्ट्रिय औषत भन्दा निक्कै कमजोर रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको नेपालमा बालबालिकाको बहु आयामिक बञ्चितीकरण प्रोफाइल २०२६ को मुख्य नतिजा सार्वजनिकीकरण कार्यक्रममा सोको जानकारी दिइएको हो ।
युनिसेफको सहयोगमा भएको कार्यक्रममा बालबालिकाको खानेपानीमा पहुँच नेपालको औषत भन्दा मधेशमा राम्रो भए पनि अन्य सबै सूचकहरूमा निक्कै कमजोर रहेको सो अध्ययन प्रतिवेदनमा उल्लेख भएको तथ्याङ्कले पुष्टि गरेको तथ्याङ्क कार्यालयका निर्देशक सन्ध्या दाहाल केसीले जानकारी दिनुभयो ।
शुन्य देखि १७ वर्षसम्मका बालबालिकाको तीन वर्षको तुलनात्मक अध्ययन प्रतिवेदनमा पछिल्लो केही वर्षमा विभिन्न क्षेत्रमा देखा परेको बञ्चितीकरणको दरमा केही मात्रामा कमी आएको भए पनि अझै सुधारका काम गर्नुपर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा खाने पानीमा राष्ट्रिय स्तरमा २.१ प्रतिशत, शिक्षामा ११.३ प्रतिशत, सरसफाईमा २३.२ प्रतिशत, पोषणमा ४२.२ प्रतिशत, सूचना तथा सञ्चारमा ५२.२ प्रतिशत र आवासमा ५७.५ प्रतिशत बालबालिकाहरू बञ्चितीकरणमा परेको उल्लेख रहेको निर्देशक केसीले पेश गर्नुभएको अध्ययन प्रतिवेदन २०२६ मा उल्लेख छ । मधेश प्रदेशमा बालबालिकाको खानेपानीमा पहुँच राष्ट्रिय भन्दा राम्रो रहेको छ । मधेशमा खानेपानीको पहुँचबाट ०.८ प्रतिशत बालबालिकाहरू मात्र बञ्चित रहेको अध्ययन प्रतिवेदनले जनाएको छ ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्य नबल किशोर यादवले मधेश प्रदेशमा सूचकहरू कमजोर हुनुमा उहाँका बहुसङ्ख्यक दलित तथा मुस्लिम समुदायमा शिक्षा, स्वास्थ्य तथा जनचेतनाको कमी रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले शिक्षा तथा स्वास्थ्यलाई स्थानीय तहमा दिएका कारणले यो क्षेत्रमा राम्रो काम हुन नसकेको बताउँदै यी दुई विषयलाई संघ वा प्रदेश मातहत राख्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उप तथ्याङ्क अधिकारी ढुण्ढीराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा युनिसेफका हर्षराज दहाल तथा धनुषाका तथ्याङ्क अधिकृत शिवनारायण महतो लगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्