पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग
काठमाडौँ । भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिष्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट सङ्कलित रकम प्रदान गरिएको हो ।
त्यस अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मा र रासस प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद सापकोटाले रु दुई लाख ३० हजारको चेक राससकर्मी खड्कालाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष शर्माले अकल्पनीय विपद्मा परी थामीसहित तीन पत्रकार गुमाउनुपरेको बताउनुभयो । उहाँले थामी इमान्दार र सक्रिय पत्रकार भएको स्मरण गर्नुभयो । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकारका परिवारलाई केन्द्रले तत्काल सहयोगका रूपमा रु एक/एक लाख प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
राससका महाप्रबन्धक सन्दीप राईले दुःखको घडीमा एकता र सहयोग प्रदर्शन गरिएकामा रासस शाखालाई धन्यवाद दिँदै शोकलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गर्नुभयो ।
राससका प्रमुख समाचारदाता एकराज पाठकले रासस परिवारका एक सदस्य गुम्नु आफूहरूको पनि परिवारको सदस्य गुम्नु भएको सन्दर्भ उल्लेख गर्दै आफन्त गुमाएर पीर व्यथामा बाँचेकाहरूले आ–आफ्नो जीवन अगाडि बढाउनुपर्ने नियति भएको बताउनुभयो ।
महासङ्घको प्रतिष्ठान प्रदेशका उपाध्यक्ष एवं शाखाका पूर्व अध्यक्ष पवित्रा गुरागाईँले विपद्को समयमा आफूहरू एकजुट हुन सक्छौँ भन्ने सन्देश राससकर्मीले दिएको बताउनुभयो ।
वासिङ्टन डिसीस्थित राससका समाचारदाता मधुकर अधिकारीले दुःखको समयमा आफूहरू जहाँ रहेर पनि साथमा रहँदै आएको बताउनुभयो ।
शाखाका अध्यक्ष सापकोटाले दुःखको समयमा सामूहिकता प्रदर्शन गर्न सहयोगको आह्वान गरिएको र छोटो समयमा सबैबाट ऐक्यबद्धता प्राप्त भएको जानकारी दिनुभयो ।
गत भदौ १० गते बाढीमा बेपत्ता हुनुभएका नयाँ पत्रिका दैनिकका पत्रकार थामीको यही असोज ३ गते कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्