चाडपर्व सुरक्षित बनाउन रौतहटमा ८९७ प्रहरी परिचालन गरिँदै
रौतहट । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै रौतहटमा सुरक्षा चुनौती बढ्न सक्ने आकलन गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारी, अवैध कारोबार तथा सवारी दुर्घटना नियन्त्रण गर्न जिल्लामा ट्राफिक प्रहरीसहित ८९७ प्रहरी परिचालन गरिने भएको छ ।
चाडपर्वमा बजारमा किनमेल गर्नेको भीड बढ्ने, सर्वसाधारण घर छाडेर आफन्तकहाँ जाने तथा भारतबाट नेपाली नागरिक घर फर्किने क्रम बढ्ने गर्छ । यहीँ समयमा आपराधिक गतिविधि र सवारी दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको हो ।
सुरक्षा योजनाअनुसार जिल्लाका ३४ स्थानमा पिकेट ड्युटी र १० स्थानमा पैदल गस्ती परिचालन गरिनेछ । यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ । यसका अतिरिक्त मोबाइल गस्ती, ड्रोन तथा सिसिटिभीबाट निगरानी र सादा पोसाकमा प्रहरी परिचालन गरी शङ्कास्पद गतिविधिमाथि निगरानी बढाइनेछ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजालले चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन गरिनेछ ।
चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन रौतहट प्रहरीले ८९७ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्