तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

नुवाकोट । भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसँगै यातायातमार्फत जिल्लासँग अन्य जिल्ला जोडिएको हो । 

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएसँगै रसुवा र नुवाकोटबिचको सम्पर्क टुटेको थियो ।

पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने नेपाली सेनाको उपरथी अनुपजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार बेत्रावतीस्थित फलाखु खोलाको पुल नेपाली सेनाले पाँच दिनमा तयार गरेको हो ।

पुल सञ्चालनमा आएसँगै उपरथी थापाले पुल निर्माणसम्बन्धी प्राविधिक जानकारीसहितको प्रतिवेदन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख कृष्णनाथ ओझालाई प्रदान गर्नुभयो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सञ्चालनमा आएको बेलिब्रिज ४० टन भार बहन क्षमताको रहेको छ । ७३ दशमलव दुई मिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको छ । नुवाकोटको विदुरबाट सिधैँ बेत्रावती पुग्न सकिने गरेर सडक सञ्जालको निर्माण र पुलबाट रसुवाको धुञ्चे पुग्न सहज भएको छ । बेत्रावतीको पुल तरेर पासाङल्हामु सडक मार्ग हुँदै रसुवाको धुञ्चे भएर स्याफ्रुबेँसीस्थित त्रिशूली वारीसम्म सवारीसाधनमा पुग्न सकिने भएसँगै रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्य सामाग्रीसहित अत्यावश्यक सामग्री लैजान सहज भएको छ ।

गल्छी–रसुवागढी सडकअन्तर्गत स्याफ्रु बेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनका लागि पनि बेत्रावतीमा निर्माण भएको बेलिब्रिजले सहज बनेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत खोज तथा उद्धारसहित राहत एवं अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आइरहेको छ ।

भोटेकोशी बाढीले क्षति पुर्‍याएको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले बेलिब्रिज जडान गरेर नुवाकोट र धादिङलाई यातायातको सिधा सम्पर्कमा जोडेको थियो । बाढीले क्षति पुर्‍याएका बाँकी स्थानका पुलसहितको सडक सञ्जाल सञ्चालन गराउन नेपाली सेनामार्फत आवश्यक सहजिकरण भइरहेको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button