कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको हो ।
यसअघि, निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो ।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम सङ्कलन गरी मतगणना थालिएको हो ।
यसअघि, शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराएर विजयी भइसक्नुभएको छ। थापाले सभापतिमा खसेको कुल मतमध्ये झण्डै ९४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्