तपाईँ सुन्दै हुनुहुन्छः

‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

काठमाडौँ । नेपाली साहित्यकी विशिष्ट स्रष्टा पारिजातका साहित्यिक कृतिमा आधारित एक हप्ते चित्रकला प्रदर्शनी ‘क्यानभासमा पारिजात’ म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले चित्र सिर्जना गरेर नयाँ कामको थालनी गरेको बताउनुभयो । एक स्रष्टाको कृतिमा अर्को स्रष्टाले कलाकृति रचना गर्दा उनीहरूबीचको सिर्जनात्मक बुझाइ र दृष्टिकोणको अन्तर पहिचान गर्न सकिने उहाँको भनाइ थियो ।

प्रदर्शनीमा सहभागी कलाकार सौरगङ्गा दर्शनधारीले एक स्रष्टाको रचनामाथि अर्को स्रष्टाले कलाकृति सिर्जना गर्नु चुनौतीपूर्ण भए पनि त्यसबाट कृतिको भाव र गहिराइ बुझ्न सकिने बताउनुभयो । रङ र रेखामार्फत पारिजातका कृतिलाई कलाकारले न्याय गरेको अनुभव भएको उहाँले भन्नुभयो ।

प्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले स्रष्टाका साहित्यिक कृतिमाथि चित्र सिर्जना गर्दा तिनमा नयाँ आयाम थपिने बताउनुभयो । शब्दलाई रङ र रेखामार्फत अर्को सिर्जनात्मक अभिव्यक्तिमा रूपान्तरण गर्दा स्रष्टाहरूबीचको सिर्जनात्मक बुझाइसमेत उजागर हुने उहाँको भनाइ थियो । 

यस्तो सिर्जनात्मक अभ्यास सामाजिक रूपान्तरण र जागरणका लागि फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पारिजात स्मृति केन्द्र, पारिजातको कृतित्व र चित्रकलाबारे चर्चा गर्दै डा महेश मास्केले चित्रकलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउने प्रयास भएको बताउनुभयो । उहाँले पारिजातको साहित्यिक योगदान तथा साहित्य र चित्रकलाबीचको सम्बन्धबारे प्रकाश पार्नुभयो ।

केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष सुकन्या वाइबाले पारिजातका कृतिमाथि चित्र सिर्जना गरेर कलाकारले उहाँप्रति न्याय गरेको बताउनुभयो । केन्द्रका अध्यक्ष इन्दिरा दलीले कलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई थप उचाइ दिने काम भएको धारणा व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा पारिजातका कविता, कथा, उपन्यास र आत्मसंस्मरणलगायत साहित्यिक रचनामा आधारित १६ जना कलाकारका कलाकृति राखिएका छन् । प्रदर्शनीमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, एससी सुमन, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, वासु क्षितिज, केशवराज खनाल, डिबी भण्डारी, लीलाधर केसी, मोहन शिवाकोटी, किशोर रानाभाट, रसिकराज, मनरा प्रजापति र शोभा ढकालका चित्र समावेश छन् ।

प्रदर्शनीको समापन एक हप्ताको राखिएको र आवश्यकतानुसार थप्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button