रौतहटका चार स्थानमा यात्रु सहायता कक्ष, चन्द्रनिगाहपुरमा रिफ्रेस सेन्टर
रौतहट । हिन्दू धर्मावलम्बीका प्रमुख चाड विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको छ ।

चाडपर्वका बेला यात्रुको आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा उक्त व्यवस्था गरिएको हो । चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने तथा यात्राका क्रममा ठगी र अन्य समस्या हुन सक्ने भएकाले यात्रुलाई आवश्यक सहयोग पुर्याउन जिल्लाका चार प्रमुख स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी तथा ट्राफिक प्रहरीको पहलमा चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर चोक, गरुडा नगरपालिका–४ स्थित गरुडा बजार, बौधीमाई नगरपालिका–७ स्थित बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सहायता कक्षबाट चाडपर्वका बेला घर फर्कने तथा विभिन्न गन्तव्यतर्फ यात्रा गर्ने सर्वसाधारणलाई यात्रासम्बन्धी आवश्यक सहजीकरण, सुरक्षित यात्राबारे सचेतना तथा ट्राफिक व्यवस्थापनमा सहयोग गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, लामो दूरीको यात्रा गर्ने यात्रुलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको अगाडि रिफ्रेस सेन्टर स्थापना गरिएको छ । उक्त सेन्टरमा यात्राका क्रममा केही समय विश्राम गर्न सकिने व्यवस्था मिलाउनुका साथै शुद्ध खानेपानी र शौचालयजस्ता आधारभूत सुविधा उपलब्ध गराइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले चाडपर्वका बेला सवारीसाधनमा यात्रुको अत्यधिक चाप हुने भएकाले यात्रुलाई सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्न सहयोग पुर्याउने उद्देश्यले सहायता कक्ष र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्