पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढिरहेको छ : मुख्यमन्त्री थापा
भक्तपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढिरहेको बताउनुभएको छ ।

क्रियाशील पत्रकार मञ्च भक्तपुरको को १६औँ वार्षिक साधारणसभा, छैटौँ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा आज मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पाँच वटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
मुख्यमन्त्री थापामगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको दाबी गर्नुभयो । उहाँले सङ्घीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्य चिर्न आवश्यक रहेको बताउनुभयो ।
देशको विकास र समृद्धिमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्न, विकृति उजागर गर्न र यथार्थपरक समाचार लेख्न आग्रह गर्नुभयो ।
सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारले समाचार सङ्कलन र सम्प्रेषण गर्दा दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा क्रियाशील पत्रकार मञ्च भक्तपुरले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
मुख्यमन्त्री थापामगर, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको हो ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भई ज्यान गुमाएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत टेकराज थामीलाई मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नगद पाँच हजार रुपैयाँसहितको उक्त पुरस्कार उनकी पत्नी एवं पत्रकार कालिका खड्कालाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई पनि नगद रु पाँच हजार सहित स्व. लक्ष्मीमाया कासिछ्वा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ र सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहँदै आएको बताउनुभयो ।
मञ्चको नयाँ नेतृत्व चयन
क्रियाशील पत्रकार मञ्च भक्तपुरको छैटौँ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्करराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनुभएको छ । मञ्चको सदस्यहरूमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्