कोशी प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा, ८ हजार १३३ प्रहरी परिचालन
विराटनगर।दसैँ, तिहार तथा छठलगायतका चाडपर्वहरूलाई सुरक्षित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कडा बनाउन प्रदेशभर ८ हजार १ सय ३३ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रदेश प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना, २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा प्रहरी परिचालन गरिएको जनाएको छ ।
चाडपर्वमा बजार, सार्वजनिक यातायात, राजमार्ग, धार्मिक स्थल तथा आर्थिक कारोबार हुने स्थानमा मानिसको चहलपहल बढ्ने र सुरक्षा चुनौतीसमेत थपिने भएकाले प्रहरीले नियमित सुरक्षासँगै विशेष निगरानी र आकस्मिक प्रतिकार्यलाई प्राथमिकता दिएको कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी शेखर खनालले बताउनुभयो ।
चाडपर्वका बेला यात्रु ठगिने, सामान हराउने, चोरी हुने तथा यात्राका क्रममा विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको डिआइजी खनालले जानकारी दिनुभयो ।
बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानमा राखिएका सहायता कक्षबाट यात्रुलाई आवश्यक सहयोग, गुनासो सुनुवाइ र सुरक्षा सहजीकरण गरिने उहाँको भनाई छ ।
त्यस्तै चाडपर्वलाई लक्षित आकस्मिक घटनामा तत्काल परिचालन हुन ४५३ वटा ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गर्ने व्यवस्था मिलाइको छ ।
सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार तत्काल हस्तक्षेप गर्न १५ वटा स्ट्राइकिङ टोली परिचालन गरिनेछ । यी संयन्त्रले झैझगडा, आपराधिक गतिविधि तथा आकस्मिक घटनामा प्रहरीको प्रतिक्रिया समय घटाउने अपेक्षा गरिएको छ ।
सीमानाकाहरुमा पटका जन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शङ्कास्पद एरिया इलाकाहरूमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ ।
मानिसको बढी भिडभाड हुने स्थान, चोक बजारहरूमा को निगरानी तथा आवश्यकता अनुसार ड्रोन क्यामेरा समेत परिचालन गरी निगरानी बढाई सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको जनाइएको छ
चाडपर्वको समयमा शान्ती सुरक्षा थप प्रभावकारी बनाउन सीमा नाका लगायत कोशी प्रदेशका टोलगाउ वस्तीतथा बजारहरूमा २४ घन्टा सुरक्षाकर्मीहरूले गस्ती गर्ने, सडक लगायतका विभिन्न नाकाहरूमा सवारी साधन चेकजाँच, बैङ्क तथा वित्तीय संस्थाहरूमा सुरक्षाकर्मी परिचालन तथा निगरानी बढाइएको सो कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्