तपाईँ सुन्दै हुनुहुन्छः

१०औँ राष्ट्रिय खेलकुदका लागि उदयपुरमा खेलाडी छनोट सुरु

उदयपुर । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ शनिबार त्रियुगा नगरपालिका–११ स्थित साकेला टोल खेलमैदानमा खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गरिएको हो ।

कोशी प्रदेशसभा उपसभामुखको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न खेलकुद संघका अध्यक्ष तथा पदाधिकारी, खेलाडी र खेल प्रेमीहरूको उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । छनोट प्रतियोगितामार्फत उदयपुरमा रहेका प्रतिभावान् खेलाडीको पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गरिने अपेक्षा गरिएको छ ।

खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । जिल्ला स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्ने खेलाडी उत्पादनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

उदयपुरबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने यस प्रतियोगितालाई जिल्लाको खेलकुद विकास र प्रतिभा पहिचानको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । छनोटमा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा जिल्लाको गौरव बढाउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button