तपाईँ सुन्दै हुनुहुन्छः

बाँदरको आतङ्कपछि अदुवा र बेसार खेती गर्दै किसान

सुनसरी । बाँदरको आतङ्कका कारण धरान उपमहानगरपालिका-२० विष्णु पादुकाका किसान परम्परागत धान, मकै र कोदोखेती छाडेर अदुवा तथा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले बाली नष्ट गर्न थालेपछि कतिपय किसानले खेतबारी बाँझै छाडेका छन् भने केहीले बाँदरले कम क्षति पुर्‍याउने अदुवा र बेसार खेती गर्न थालेका हुन् ।

कुनै समय अम्लिसो उत्पादनका लागि परिचित यस क्षेत्रमा बाँदरले अम्लिसोको कलिलो सुइरो समेत खाइदिने गरेपछि यसको खेती घट्दै गएको स्थानीय किसानको भनाइ छ । धरान-२० का किसान पदम राईले व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुभएको छ । 

उहाँले वार्षिक १० देखि ११ क्विन्टलसम्म अदुवा उत्पादन गरी बिक्री गर्दै आएको बताउनुभयो । “पहिले मकैखेती गर्थेँ । बाँदरले दुःख दिन थालेपछि अदुवा खेती गर्न थालेको हुँ । बाँदरले अदुवा नखाने भएकाले यसको खेती गर्न सहज भएको छ”, उहाँले भन्नुभयो ।

मौसमले साथ दिएमा अदुवा खेतीबाट मनग्य आम्दानी हुने राईले बताउनुभयो । गत वर्षको तुलनामा अहिले बजारमा अदुवाको मूल्य राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक रहेको उहाँको भनाइ छ । कहिलेकाहीँ सामान्य रोग तथा कीराको सङ्क्रमण देखिए पनि ठूलो नोक्सान हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।

अदुवासँगै लसुन र बेसार खेती गर्दै आउनुभएका राईले वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । मौसम अनुकूल हुनुका साथै रोग तथा कीराको सङ्क्रमण नदेखिए अदुवा खेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

शिक्षण पेसा छाडेर व्यावसायिक अदुवा खेतीमा लाग्नुभएका अर्का किसान तिलक राईले पनि अदुवा खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले वार्षिक सातदेखि १० क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको बताउनुभयो । गत वर्ष अदुवा खुद्रा बजारमा प्रतिकिलो रु १५० देखि रु २८० सम्ममा बिक्री भएकाले यस वर्ष पनि सोहीअनुसार मूल्य आउनेमा सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।

अदुवा खेतीका लागि केही भिरालो ठाउँ र खुकुलो माटो आवश्यक पर्ने उहाँले बताउनुभयो । “जमिन राम्रो भयो भने अदुवा खेतीबाटै मनग्य आम्दानी गर्न सकिन्छ । पहिले गाउँमा अधिकांश किसानले मकै र कोदोखेती गर्थेँ । अहिले बाँदरको समस्याका कारण धेरैले अदुवा र बेसार खेती गर्न थालेका छन्”, उहाँले भन्नुभयो ।

राईका अनुसार विष्णु पादुकामा अहिले २०० भन्दा बढी किसान अदुवा खेतीमा संलग्न छन् । उहाँले अदुवा खेतीसँगै अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषिउपज उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आउनुभएको छ । यहाँ उत्पादित अदुवा र बेसार किसानले बिक्रीका लागि धरानस्थित कृषिउपज बजार तथा धरान-११ को मङ्गलबारे बजारमा ल्याउने गरेका छन् ।

धरान(२० का स्थानीय ध्रुव साम्पाङ राईले बाँदरको आतङ्कका कारण खेतीपाती गर्नै छाड्नुपर्ने अवस्था आएको बताउनुभयो । बाँदरको समस्याकै कारण सो क्षेत्रमा करिब ८० प्रतिशत जग्गा बाँझो रहेको उहाँको भनाइ छ । बाली जोगाउन बाँदरको दिनरात निगरानी गर्नुपर्ने भएकाले खेती गर्न कठिन भएको उहाँले बताउनुभयो । 

बाँदर नियन्त्रणका लागि स्थानीय तहले विगतमा गरेका प्रयाससमेत प्रभावकारी हुन नसकेको साम्पाङको भनाइ छ । “बाँदरलाई नियन्त्रण गरेर अन्यत्र पठाउँदा पनि फेरि फर्किएर आउने समस्या छ । नियन्त्रण गरिएका बाँदरलाई कहाँ व्यवस्थापन गर्ने भन्ने पनि चुनौती छ”, उहाँले भन्नुभयो । बाँदरको समस्या धरानमा मात्र नभई देशका विभिन्न ठाउँमा रहेको उल्लेख गर्दै साम्पाङले यसको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारले स्पष्ट नीति र प्रभावकारी योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरानस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताउनुभयो । धरान आसपासका क्षेत्रमा उत्पादित अदुवाका साथै कोशी कोरिडोरअन्तर्गतका पहाडी जिल्लाबाट पनि ठूलो परिमाणमा अदुवा बजारमा आउने गरेको उहाँले जानकारी दिनुभयो । सगरमाथा कोरिडोरअन्तर्गत सिन्धुलीलगायत क्षेत्रबाट समेत किसान अदुवा बिक्रीका लागि धरान आउने गरेको उहाँको भनाइ छ ।

विशेष गरी जेठदेखि भदौसम्म अदुवाको बिक्री बढी हुने गरेको भट्टराईले बताउनुभयो । धरान कृषिउपज बजारबाट दैनिक १०० देखि २०० मेट्रिक टनसम्म अदुवा बिक्री हुने गरेको छ । धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङलगायत जिल्लाबाट समेत किसानले अदुवा धरान बजारमा ल्याउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button