तपाईँ सुन्दै हुनुहुन्छः

पाकेको धान ढलेपछि बाँकेका किसानलाई बाली भित्र्याउन समस्या

बाँके। पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षा र हावाहुरीले क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित बनेका छन्।

बुधबार परेको वर्षा र चलेको हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा धानबाली ढलेपछि किसानलाई बाली स्याहार्न र सुरक्षित रूपमा भित्र्याउन समस्या भएको छ।

विशेषगरी राप्ती सोनारी गाउँपालिकामा हावाहुरीसहितको वर्षाले बीउ धानमा ठूलो क्षति पुर्‍याएको छ। साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीका अनुसार सहकारीमार्फत किसानले खेती गरेको करिब एक सय ५० बिघा क्षेत्रफलको धानबालीमा क्षति पुगेको छ।

धान पाकेर स्याहार्ने समयमा वर्षा हुँदा बाली ढलेको र उत्पादनमा असर पर्ने अवस्था आएको वलीले बताए।

“बीउ धान स्याहार्ने बेला वर्षा भयो। पाकेको धान ढलेपछि ठूलो क्षति भएको छ,” उनले भने, “यसले आगामी वर्षका लागि बीउ धानको अभाव हुन सक्ने अवस्था देखिएको छ।”

सहकारीले किसानलाई धानको बीउ उपलब्ध गराउँदै आएको छ। किसानले उत्पादन गरेको बीउ धान सहकारीलाई बिक्री गर्ने गरेका छन्। यस वर्ष पर्याप्त वर्षा भएकाले धान उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि बाली भित्र्याउने समयमा परेको वर्षाले किसानको मेहनत र अपेक्षामा असर पारेको वलीले बताए।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले पनि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा वर्षाले क्षति पुर्‍याएको जानकारी दिइन्। जिल्लाका विभिन्न स्थानबाट धानबालीमा क्षति पुगेको विवरण प्राप्त भए पनि क्षतिको यकिन अवस्था स्पष्ट भइनसकेको उनले बताइन्।

“पाकेको धान भित्र्याउने बेलामा वर्षा भएकाले धेरै ठाउँमा क्षति पुगेको जानकारी आएको छ,” शर्माले भनिन्, “क्षतिको विवरण संकलन भइरहेको छ। यकिन तथ्यांक आएपछि मात्रै क्षतिको अवस्था स्पष्ट हुन्छ।”

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा कुल ५४ हजार पाँच सय २६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार पाँच सय ७० हेक्टरमा धान खेती हुने गरेको छ। यस वर्ष जिल्लामा ३३ हजार पाँच सय तीन हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

लामो समयको मेहनतपछि बाली भित्र्याउने तयारीमा रहेका किसानलाई अन्तिम समयमा परेको वर्षाले थप चिन्तित बनाएको छ। धानबालीमा भएको क्षतिको वास्तविक अवस्था विवरण संकलनपछि मात्रै स्पष्ट हुने भए पनि बीउ धानमा समेत क्षति पुगेकाले आगामी वर्षका लागि आवश्यक बीउको उपलब्धतामा असर पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button