तपाईँ सुन्दै हुनुहुन्छः

बाँके जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै, एक महिनामा १ हजार ३०० मुद्दा फछ्र्योट

बाँके।बाँके जिल्ला अदालतले मुद्दाको चाप बढ्दै गए पनि छिटोछरितो र गुणस्तरीय न्याय सम्पादनलाई प्राथमिकता दिएको जनाएको छ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमका अनुसार आफूले जिम्मेवारी सम्हाल्दा अदालतमा चार हजार तीन सय १२ मुद्दा रहेकामा अहिले बढेर पाँच हजार चार सय ९१ पुगेका छन्।

यद्यपि, पछिल्लो एक महिनामा मात्रै एक हजार तीन सय मुद्दा फछ्र्योट गरिएको उहाँले बताउनुभयो।

बाँके जिल्ला बार एसोसिएसनले सरुवा भएर आएका न्यायाधीशहरूको स्वागतमा आयोजना गरेको कार्यक्रममा न्यायाधीश गौतमले पीडितको न्याय पाउने अधिकार र प्रतिवादीको आधारभूत मानव अधिकारलाई ध्यान दिएर न्याय सम्पादन भइरहेको बताउनुभयो।

उहाँले न्यायमा सहज पहुँच सुनिश्चित गर्दै अदालतबाटै न्यायको प्रत्यक्ष अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी कानुन व्यवसायी तथा मानव अधिकारकर्मीहरूले समयमै न्याय उपलब्ध गराउन मुद्दा फछ्र्योटको गति बढाउनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले प्रभावकारी न्याय सम्पादनका लागि बार र बेन्चबीचको समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका थिए।

बाँके जिल्ला बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पुनम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सरुवा भएर आएका न्यायाधीशहरूलाई स्वागत गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button