तपाईँ सुन्दै हुनुहुन्छः

माटोबाट देवीदेवताको मूर्ति बनाउँदै शिवकुमार, बर्दियामा मौलिक कलाको पहिचान

बर्दिया । काठ, बाँस, पराल र सुतरीको सहाराले माटोलाई जीवन्त देवीदेवताको रूप दिनु सामान्य कुरा होइन। तर, बर्दियाका ४० वर्षीय मूर्तिकार शिवकुमार राठौरका लागि यो केवल पेसा मात्र नभई जीवनको लय र भक्ति पनि बनेको छ। जिल्लामा ‘शिव आर्ट’का नामले परिचित उनी विगत १५ वर्षदेखि निरन्तर मूर्तिकलाको क्षेत्रमा क्रियाशील छन्।

प्लस टु तहसम्मको औपचारिक शिक्षा हासिल गरेका शिवकुमार आफ्ना गुरु स्वर्गीय मुरलीप्रसाद गुडियालाई कलाक्षेत्रमा प्रवेश गर्ने प्रेरणाको स्रोत मान्छन्। १४ वर्षीया छोरी र ११ तथा सात वर्षका दुई छोराका पिता उनी परिवारको पालनपोषणसँगै सन्तानको उज्ज्वल भविष्य निर्माणका लागि पनि यही पेसामा समर्पित छन्। मूर्तिकलाप्रतिको उनको रुचि र लगावको जग भने आमाले बसालेकी हुन्।

“यो काम सिक्न र अघि बढ्न मलाई सबैभन्दा ठूलो प्रेरणा आफ्नै आमाबाट मिल्यो,” विगत सम्झँदै शिवकुमार भन्छन्, “आमाले नै यो काम सिकेमा छोराछोरी पाल्न सजिलो हुन्छ र समाजमा नाम पनि कमाइन्छ भनेर हौसला दिनुभएको थियो।” आमाको त्यही प्रेरणाले उनलाई सानै उमेरदेखि मूर्तिकलातर्फ आकर्षित गरायो।

सुरुका दिनमा उनले स्थानीय कलाकार स्वर्गीय मुरलीप्रसाद गुडियाबाट पेन्टिङ र चित्रकलाको आधारभूत तालिम लिए। त्यसपछि आफ्नो सीपलाई थप निखार्न र नयाँ अनुभव हासिल गर्न उनी भारतको कोलकाता पुगे। त्यहाँका अनुभवी कलाकारसँग बसेर काम गरेपछि उनी बर्दिया फर्किए र जिल्लालाई नै आफ्नो कर्मथलो बनाएर व्यावसायिक रूपमा मूर्ति बनाउन थाले।

दसैँ नजिकिँदै गर्दा शिवकुमारको भाडामा लिएको कार्यशालामा चटारो बढेको छ। एउटा पूर्ण मूर्ति सेट तयार पार्न करिब तीन महिनाको मेहनत लाग्ने उनी बताउँछन्। सुरुमा काठ र बाँसको संरचना बनाएर त्यसमा पराल र सुतरी बाँधिन्छ। त्यसपछि माटोको प्रयोग गरी मूर्तिलाई आकार दिइन्छ। दुर्गा माताको मुख्य मूर्तिसहित गणेश, लक्ष्मी, सरस्वती र कार्तिकेयका गरी पाँचवटा प्रतिमाको सेट तयार पारिन्छ।

मूर्तिलाई अन्तिम रूप दिन र सजाउन आवश्यक रङ स्थानीय बजारमै उपलब्ध भए पनि सजावटका अन्य सामग्री भने छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको शिवकुमार बताउँछन्। आफ्नै लगानीमा तयार पारिएका मूर्ति पाँच हजार पाँच सयदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्।

घटस्थापनाको अघिल्लो दिनदेखि नै बर्दियाको गुलरिया, बाँके तथा सुदूरपश्चिमको लम्कीसम्मका भक्तजन र पूजा समितिहरू मूर्ति लिन उनको कार्यशालामा पुग्ने गर्छन्। गत वर्ष भारतबाट समेत मूर्ति खरिद गर्न ग्राहक आएको उनी बताउँछन्।

यो पेसामा उनलाई चार जना सहयोगीले साथ दिएका छन्। घरका सदस्यहरूले पनि मूर्ति निर्माणदेखि अन्य काममा सहयोग गर्दै आएका छन्। परिवारको साथ र आफ्नै मेहनतका कारण उनले मूर्तिकलालाई निरन्तरता दिइरहेका छन्।

मूर्तिकलामा भविष्य देखे पनि पछिल्लो समय कच्चा पदार्थको सहज उपलब्धता नहुँदा काम गर्न कठिनाइ भइरहेको उनको गुनासो छ। बाँस, उपयुक्त माटो र अन्य आवश्यक सामग्री जुटाउन दिनप्रतिदिन मुस्किल हुँदै गएको उनी बताउँछन्।

“हामीजस्ता कलाकारलाई स्थानीय सरकारले कच्चा पदार्थको सहज व्यवस्थापन र प्रोत्साहन गरिदिए धेरै राहत हुने थियो,” उनी भन्छन्, “हामीले यहाँ मूर्ति नबनाउने हो भने स्थानीय पुँजी र रकम छिमेकी मुलुक भारततिर जान्छ। स्थानीय स्तरमै उत्पादन र व्यापार बढाउन सकियो भने मात्रै क्षेत्रको आर्थिक विकास हुन्छ।”

परम्परागत कला र हस्तकलामा संलग्न कलाकारलाई प्रोत्साहन गर्नुका साथै स्थानीय स्तरमै रोजगारीको वातावरण सिर्जना गर्न उनले सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका छन्। युवाहरू कुलतमा फस्ने वा वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य हुने अवस्था न्यूनीकरण गर्न सीपमूलक कलाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ छ।

विभिन्न चुनौती र कठिनाइका बाबजुद शिवकुमार आफ्नो कलाप्रति निष्ठावान् छन्। माटोलाई देवीदेवताको स्वरूप दिँदै धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्न उनले गरेको १५ वर्ष लामो प्रयास मौलिक कलाको संरक्षण र स्थानीय रोजगारी प्रवर्द्धनको एउटा उदाहरण बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button