तपाईँ सुन्दै हुनुहुन्छः

एपीएफको शानदार जित, झारखण्ड विरुद्ध ९–१ को जितसँगै सेमिफाइनलमा

बारा । जीतपुरसिमरा महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । 

सिमरा रङ्गशालामा मङ्गलवार राति भएको अन्तिम क्वाटर फाइनलमा एपीएफले भारतको स्टेट स्पोट्र्स प्रोमोसन सोसाइटी, झारखण्डलाई ९–१ ले पराजित गरेको हो ।

एपीएफको जितमा रेनुका हमाल, रश्मिकुमारी घिसिङ र पूर्णिमा राईले समान दुई गोल गर्नुभयो । यस्तै, गीता राना मगर, कुसुम खतिवडा र सरु लिम्बुले एक–एक गोल थपे । झारखण्डका लागि बबिता कुमारीले एक गोल गर्नुभएको थियो ।

खेलको पहिलो हाफमै एपीएफले ३–१ को अग्रता बनाएको थियो । गीता, कुसुम र रेणुकाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने झारखण्डकी बबिताले एक गोल फर्काउनुभएको थियो  ।

दोस्रो हाफमा भने एपीएफ थप आक्रामक देखियो । पूर्णिमा र रश्मिले दुई–दुई गोल तथा रेनुका र सरुले एक–एक गोल गरेपछि एपीएफले ९–१ को फराकिलो जित निकाल्यो  ।

खेलमा दुई गोल गरेकी एपीएफकी रेनुका ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो  । उहाँलाई सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र गुप्ताले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल आज राती हुनेछ । सेमिफाइनलमा आयोजक सिमरा भेट्रान र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button