सगरमाथाको फेदीमा बन्यो विश्वकै अग्लो स्थानको झोलुङ्गे पुल
सोलुखुम्बु । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्रमा संसारकै सबैभन्दा अग्लो स्थानमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ को थुक्लामा समुद्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा २०६ मिटर लामा झोलुङ्गे पुल सञ्चालनमा आएको हो ।

हिमाली पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्रका रुपमा रहेको त्यस क्षेत्रमा निर्माण भएको पुलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले यस पुलले खुम्बुको पर्यटनमा समेत सहज हुने बताउनुभयो । गाउँपालिकाले सबै क्षेत्रको समानुपातिक विकासमा ध्यान दिएको उहाँको भनाइ छ ।
सगरमाथा आधार शिविर जाने प्रमुख मार्गका रुपमा रहेको उक्त खोलामा गाउँपालिकाको पाँच करोड पाँच लाख ९५ हजार रुपियाँको लागतमा निर्माण गरिएको उक्त पुल महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार यो संसारकै उच्च स्थानमा रहेको सबैभन्दा लामो झोलुङ्गे पुल हो । उहाँका अनुसार पुल सञ्चालनमा आएसँगै थुक्ला खोला पार गर्न स्थानीय बासिन्दा तथा पर्यटकले झेल्दै आएको जोखिम समेत कम भएको छ ।

यसअघि खोलाबाट करिब ३० मिनेटसम्म जोखिमपूर्ण बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो । नयाँ पुल सञ्चालनमा आएपछि थुक्ला क्षेत्रमा आवतजावत सहज हुनुका साथै खुम्बु क्षेत्रको पर्यटन तथा स्थानीय जनजीवनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०८०÷८१ देखि बी.एल.टी. कन्स्ट्रक्सन प्रा.लि. ले पुल निर्माणको जिम्मेवारी लिएको थियो । पुल उद्घाटनका क्रममा बौद्ध परम्परा अनुसार लामा गुरुबाट मन्त्रोच्चारण तथा पूजाआजा समेत गरिएको छ ।
तस्विरः नवराज गौतम








प्रतिक्रिया राख्नुहोस्