तपाईँ सुन्दै हुनुहुन्छः

इनरुवामा बन्दाकोभी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद, चालक र सहचालक नियन्त्रणमा

सुनसरी। सुनसरीको इनरुवाबाट प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा करिब २६ सय किलो गाँजा बरामद गरिएको हो।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले नियमित चेकिङका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकलाई रोकेर तलासी लिएको थियो। तरकारी (बन्दाकोभी) बोकेको उक्त ट्रकभित्र लुकाएर लैजाँदै गरिएको अवस्थामा कुल २ हजार ५ सय ६६ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो।

ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले ट्रकका चालक धनकुटा निवासी राजु राई र सहचालक सन्दीप राईलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button