प्रधानमन्त्री शाहको आज उच्चस्तरीय भेटवार्ता, मोदीसँग द्विपक्षीय छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा हुनुहुन्छ ।
आइतबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहले आज भ्रमणका महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने कार्यसूची छ ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा रहनुभएका शाहले आइतबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो ।
भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।
त्यसपछि उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता हुनेछ ।
वार्तापछि हैदराबाद हाउसमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । साथै, उहाँहरूले श्रव्यदृश्य माध्यमबाट रेलसेवाको उद्घाटन गर्नुहुनेछ ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यमार्फत सम्पन्न भएका विभिन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै, नयाँ परियोजनाको शिलान्यास पनि गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा दुवै देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहसँगै भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, उद्योगी व्यवसायी र पत्रकार सहभागी हुनुहुन्छ ।
भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आजै साँझ १८ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्