तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशन यात्राको सुरुवात हो, बलियो काँग्रेससहित अगाडि आउनेछौँ : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताउनुभएको छ। 

महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने उहाँले बताउनुभयो ।

महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्माले ८० वर्षको इतिहास बोकेको काँग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक सङ्कटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित काँग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

२०८२ फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै उपसभापति शर्माले मुलुकलाई सफल बनाउन आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताउनुभयो । राष्ट्रिय हितका महत्वपूर्ण विषयमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ।

जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनेजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि उपसभापति शर्माले जोड दिनुभयो । देशभित्र र देशबाहिर रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने भन्दै उहाँले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

“नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल। यी दुवै नेपाललाई जोड्नुपर्छ”, शर्माले भन्नुभयो, “विदेशमा रहेका नेपालीले नेपालको विकासमा लगानी गर्न चाहेका छन्। उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न कांग्रेस तयार छ।”

नयाँ सरकार गठन भए पनि सामाजिक सञ्जालमा एक अर्काप्रति आक्रोश बढिरहेको उल्लेख गर्दै शर्माले अहिले नेपाली समाजमा संवाद, सद्भाव र एकताको आवश्यकता रहेको बताउनुभयो। भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने उहाँको भनाइ छ।

विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासम्मको सहभागिता रहेको बताउनुभयो । करिब ३५ हजार प्रतिनिधिमध्ये ठूलो संख्या युवा रहेको भन्दै उहाँले यसलाई कांग्रेसको नयाँ ऊर्जाका रूपमा व्याख्या गर्नुभयो । “यो यात्राको सुरुवात हो। महाधिवेशनपछि बलियो काँग्रेससहित अगाडि आउने छौँ” उहाँले भन्नुभयो ।

परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ काँग्रेसलाई अघि बढाउने उहाँले बताउनुभयो । महाधिवेशनले काँग्रेसलाई सङ्गठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने उहाँको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button