‘नेवा: लोक संस्कृति’ खोजमूलक पुस्तक सार्वजनिक
काठमाडौँ । साहित्यकार एवम् लेखक भिमनारायण श्रेष्ठको खोजमूलक कृति ‘नेवा: लोक संस्कृति’ र कवि मौन आवाजको कविता कृति ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक गरिएको छ ।

चन्द्रागिरि साहित्य समाजद्वारा आज आयोजित विशेष समारोहमा दुवै पुस्तक सार्वजनिक गरिएको हो । साहित्यकार श्रेष्ठद्वारा लिखित कृति ‘नेवा: लोक संस्कृति’ मा नेवा: परम्परा र लोक संस्कृतिका महत्वपूर्ण विषय समेटिएको छ भने कवि मौन आवाजको ‘बेनाम नदी बग्ने जङ्गल’ कविता सङ्ग्रह रहेको छ ।
समारोहमा नेवा: लोक संस्कृति कृतिका समीक्षक अमर प्रधानले पुस्तक नेवार समुदायमा परम्परादेखि चलिआएको लोक संस्कृतिमाथिको अन्वेषणात्मक कृति रहेको स्पष्ट पार्दै पुस्तकमा १४ वटा महत्वपूर्ण विषय उठान गरिएको बताउनुभयो ।
यस्तै कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ समीक्षक एवम् लेखक कवि राधिका कल्पितले कृति उत्कृष्ट, पठनयोग्य र मर्मस्पर्शी रहेको बताउँदै सिर्जनामा शक्ति रहेको स्पष्ट पार्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले नेवा: लोक संस्कृति गहिरो अन्वेषण र खोजबाट आएको पठनीय र संग्रहित पुस्तक रहेको र र कविता कृति ह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ साहित्यिक क्षेत्रको उत्तम कृति रहेको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य विन्दु श्रेष्ठले दुवै कृतिका लेखकलाई बधाई दिँदै नेवा: लोक संस्कृति नामक पुस्तकले नेवा संस्कार र संस्कृतिमा खोज गरी सङ्ग्रह गरिएकाले सबैका लागि उपयोगी र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले कविता सङ्ग्रहमा सामाजिक घटनालाई उठान गरिएको स्पष्ट पार्नुभयो ।
खोजमूलक कृति ‘नेवा: लोक संस्कृति’का लेखक साहित्यकार भिमनारायण श्रेष्ठले पुस्तक छरिएर रहेका र लोप हुन लागेका र भइसकेका नेवा: लोक संस्कार, संस्कृति र सांस्कृतिक परिवेशलाई संग्रहित गरिएको बताउनुभयो ।
कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल कृतिका लेखक एवम् कवि मौन आवाजले साहित्यिक निष्ठा कायम राख्दै पछिल्लो कृतिका पाठकबाट आउने प्रतिक्रियाले आगामी दिनमा थप हौसला मिल्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्