तपाईँ सुन्दै हुनुहुन्छः

आगामी स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो केन्द्रीय उम्मेदवार छनोट समिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)केन्द्रीय समितिको आज बसेको बैठकले आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । 

रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रीय समितिको बैठकले केन्द्रीय उम्मेदवार छनोट समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामीलाई सदस्य मनोनीत गरेको जानकारी दिनुभयो । सो समितिमा पार्टीका सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने बताइएको छ ।

बैठकले विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ । प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह ९महोत्तरी०, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई प्रमुख मनोनयन गरिएको छ ।

संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा धनञ्जय रेग्मीलाई प्रमुख र सम्राट बुढाथोकीलाई सदस्यमा मनोनयन गरिएको छ । 

त्यसैगरी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी तथा सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुख मनोनयन गरिएको छ ।

अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लिश्वोर कार्की (रोहन)लाई उपप्रमुख मनोनयन गरिएको छ । बैठकले केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

यही असोज २० देखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदहरूले ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव सङ्कलन गर्नेछन् । बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अनिवार्य रूपमा परिचालित हुन निर्देशन गरेको छ ।

यसैगरी, रास्वपा मधेस प्रदेशको सङ्गठनको समस्या तथा समाधानका सम्बन्धमा सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि पार्टीले उपयुक्त कदम चाल्ने बैठकले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै पार्टीका लागि जमिनरघर किन्न काठमाडौँ उपत्यकाको पायकपर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले नजिकिँदै गरेका नेपालीहरूका महान् चाड शुभ विजयादशमी, शुभ दीपावली, नेपाल संवत्को नव वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button