मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता: उपाधिका लागि पुलिस र सभापोखरी भिड्ने

रुपन्देही । नेपाल पुलिस क्लब र सभापोखरी स्पोटर्स क्लब, कोशी बुटवलमा जारी दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३ को फाइनलमा पुगेका छन् ।
शनिवार नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब उपाधिका लागि भिड्ने भएका हुन।
प्रतियोगिताअन्तर्गत शुक्रवार भएका सेमिफाइनल खेलमा पुलिसले एपिएफ तथा सभापोखरीले खैरा क्लब पन्जाबलाई पराजित गरेका हुन् । पहिलो सेमिफाइनलमा साभापोखरीले पाहुना टोली खैरा क्लब, पन्जाबलाई २५–२०, २५–१६, २३–२५ र २५–१५ अङ्कमा ३–१ सेटमा पराजित गरेको हो ।
यसैगरी दोस्रो सेमिफाइनलमा नेपालका दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपिएफ भिडेका थिए । जसमा पुलिस क्लब पहिलो सेट हारे पनि खेलमा पुनरागमन गर्दै लगातार ३ मा जित निकाल्न सफल भयो । खेलको पहिलो सेट पुलिस २५–२१ ले गुमाएको थियो भने दोस्रो सेट २०–२३ ले पछाडि परेकोमा खेलमा फर्कँदै २८–२६ सेट हात पार्यो । पुलिसले तेस्रो सेटमा २५–१६ को सहज जित निकाल्यो भने चौथो सेट २५–१९ मा जित्न सफल भयो ।
प्रतियोगिताको समूह ‘ए’ मा खैरा क्लब पञ्जाब, श्रीलङ्का पुलिस क्लब, नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लब तथा समूह ‘बी’ मा सभापोखरी, गुजरात स्पोर्टिङ क्लब र नेपाल एपीएफ क्लब रहेका थिए । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित ७ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख ७५ हजार र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।








प्रतिक्रिया राख्नुहोस्