चाडपर्वमा इन्धनको मूल्य नबढ्ने, बजार अनुगमन कडाइ गरिने: उद्योगमन्त्री साह
काठमाडाैँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले चाडपर्वलाई लक्षित गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएर आएपनि जनतालाई राहत प्रदान गर्न सरकारले मूल्य यथा स्थितिमा राख्ने जानकारी दिनुभएको छ ।

राष्ट्रियसभा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री साहले उपभोक्ताको हित विपरीत काम गर्ने व्यवसायीलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको हो ।
उहाँले बजार अनुगमन व्यवसायी आतङ्कित गर्नका लागि नभई आम जनताको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि केन्द्रित हुने बताउनुभयो ।
मन्त्री साहले अहिले प्राकृतिक प्रकोपका कारणले खाना पकाउने एल पी ग्याँसको आपूर्ति प्रभावित भएपनि केही दिनमा पूर्ण रुपमा सहज हुने दाबी गर्दै एलपी ग्याँसको वितरणमा सुरक्षा निकायलाई सहभागी गराउने पहल भइरहेको समितिलाई जानकारी दिनुभयो ।
उहाँले एल पी ग्याँसमा देशको ठूलो धन राशि खर्च भइरहेकाले नेपालमा नै उत्पादन भएको विद्युतको प्रयोगमा बढोत्तरी गर्नका लागि सरकारले आम जनतालाई इन्डक्सन चुलोको प्रयोग गर्नका प्रोत्साहित गर्ने नीति बनाएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्