तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित निजामती विधेयक: कर्मचारीले राजनीतिक विषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने

काठमाडौँ । नेपाल सरकारका कर्मचारीले राजनीतिक विषयमा कुनै पनि प्रकारको टीकाटिप्पणी गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

नेपाल सरकारले आज संसद्मा दर्ता गरेको सङ्घीय निजामती सेवा विधेयक, २०८३ मा निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जाल प्रयोग गर्दा राजनीतिक विषयमा टिप्पणी गर्न नपाउने प्रावधान राखिएको हो ।

विधेयकको दफा ८८ मा कुनै राजनीतिक दल वा राजनीतिक दलका पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न नपाइने व्यवस्था गरिएको छ ।

त्यस्तै, सामाजिक द्वेष वा कलह बढ्ने तथा हिंसा भड्किने खालका अभिव्यक्ति दिन पनि रोक लगाइएको छ ।

विधेयकमा निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी, कुनै राजनीतिक दल वा राजनीतिक दलका पदाधिकारीको पक्ष वा विपक्षमा कुनै टिप्पणी गर्न नहुने उल्लेख छ ।

यस्तै, पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा गरेका कामको आफ्नो व्यक्तिगत पेज वा आइडीबाट प्रचारप्रसार गर्न वा त्यससम्बन्धी कुनै कुरा व्यक्त गर्न पनि नहुने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार निजामती कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा राजनीतिक टिप्पणीका साथै आफूले पदीय जिम्मेवारी निर्वाहका क्रममा गरेका कामको व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्नसमेत सावधानी अपनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button