हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढीपीडितका लागि रु २५ लाख सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ ।
फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनालाई आज चेक हस्तान्तरण गर्नुभयो ।
सचिव खत्रीका अनुसार शिक्षक, कर्मचारी र संस्थाका सदस्यहरूका तर्फबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको हो ।
सो अवसरमा सञ्चार मन्त्री डा तिमिल्सिनाले विपद्को समयमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
स्कुलले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई पूर्ण निःशुल्क शिक्षासहित दिवा खानाको समेत व्यवस्था गर्दै आएको खत्रीको भनाइ छ । कक्षा १२ सम्मको पठनपाठन हुने सो स्कुल काठमाडौँको बौद्धमा छ ।








प्रतिक्रिया राख्नुहोस्