तपाईँ सुन्दै हुनुहुन्छः

कोशीका पाँचमध्ये एक बालबालिका बहुआयामिक वञ्चितीकरणमा

विराटनगर । राष्ट्रिय तथ्याङ्क कार्यालयले  सार्वजनिक गरेको तथ्याङ्कमा कोशी प्रदेशमा प्रत्येक पाँचमध्ये एक बालबालिका बहुआयामिक वञ्चितीकरणमा परेको पाइएको छ ।

सो कार्यालयले  विराटनगरमा आज सार्वजनिक गरेको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरणसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन’ सर्वेक्षण सार्वजनिकिकरण कार्यक्रममा कोशी प्रदेशस्तरीय नतिजाले सो देखाएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कोशी प्रदेशमा २० प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा छन् भने राष्ट्रियस्तरमा भने यस्तो वञ्चितीकरणमा रहेका बालबालिकाको अनुपात ४६ प्रतिशत रहेको छ ।

नेपाल बहुसूचक सर्वेक्षण सन् २०१४, २०१९ र २०२४–२५ का सूक्ष्म तथ्याङ्कमा आधारित सो प्रतिवेदन बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, आवास तथा सूचना तथा सञ्चार गरी सात वटा आयाममा केन्द्रित रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयकी निर्देशक सन्ध्या दाहाल केसीले जानकारी दिनुभयो ।

प्रतिवेदनअनुसार कोशी प्रदेशको बालबालिकासम्बन्धी बहुआयामिक वञ्चितीकरण सूचकाङ्क ०.०९२ रहेको छ । यसको अर्थ कोशी प्रदेशका बालबालिकाले सामना गर्न सक्ने सम्भावित कुल वञ्चितीकरणमध्ये करिब ९.२ प्रतिशत वञ्चितीकरण अनुभव गरिरहेको देखिन्छ ।

कोशी प्रदेशमा चार वा सोभन्दा बढी आयाममा वञ्चित बालबालिकाको अनुपात सन् २०२४–२५ मा ३.५ प्रतिशत रहेको छ । अर्थात् प्रत्येक सय बालबालिकामध्ये करिब चार जना बालबालिका चार वा सोभन्दा बढी आयाममा वञ्चित रहेको देखिएको छ । यो अनुपात राष्ट्रिय औसतको तुलनामा कम रहेको कार्यालयले जनाएको छ ।

आयामगत रूपमा हेर्दा कोशी प्रदेशका बालबालिकामा पोषणसम्बन्धी वञ्चितीकरण सबैभन्दा बढी देखिएको छ । प्रतिवेदनअनुसार ४१.५ प्रतिशत बालबालिका पोषणको क्षेत्रमा वञ्चित छन् । २०.८ प्रतिशत बालबालिका पर्याप्त तथा उपयुक्त सरसफाइ सुविधाबाट वञ्चित रहेका छन् । १२.६ प्रतिशत बालबालिका स्वास्थ्य, ८.४ प्रतिशत शिक्षा, २.४ प्रतिशत पर्याप्त तथा सुरक्षित खानेपानी, ६०.६ प्रतिशत सुरक्षित तथा पर्याप्त आवासीय सुविधा र ४८.३ प्रतिशत सूचना तथा सञ्चारका साधनमा पहुँचबाट वञ्चित रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बहुआयामिक वञ्चितीकरणलाई बालबालिकाको जीवनमा शिक्षा, स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, आवास र सूचना तथा सञ्चारजस्ता आधारभूत पक्षमा रहेको पहुँचका आधारमा विश्लेषण गरिएको जानकारी दिनुभयो ।

प्रतिवेदनले बालबालिकाको गरिबीलाई केवल आम्दानीको आधारमा नभई उनीहरूले दैनिक जीवनमा भोगिरहेका विभिन्न प्रकारका अभाव र वञ्चितीकरणका आधारमा समेत मापन गर्न सकिने अवस्था देखाएको छ । 

कोशी प्रदेशमा समग्र बहुआयामिक वञ्चितीकरण राष्ट्रिय औसतभन्दा कम देखिए पनि पोषण, आवास, सरसफाइ तथा सूचना–सञ्चारको पहुँचमा उल्लेख्य वञ्चितीकरण रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button