तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८३ पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८३ पारित गरेको छ ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक आज प्रतिनिधि सभामा छलफलपछि सर्वसम्मतिले पारित भएको हो । 

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धानलाई छिटो–छरितो र विश्वसनीय बनाउन विधि विज्ञान प्रयोगशालाको क्षमता विस्तार गर्न आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो । 

मन्त्री पुनले विधि विज्ञान प्रयोगशालालाई स्वायत्त संस्थाका रुपमा सञ्चालन गर्ने र आवश्यकता अनुसार विभिन्न प्रदेशमा प्रयोगशाला सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको बताउनुभयो । 

छलफलमा सांसदहरूले विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने, डिएनए परीक्षण लगायत प्रयोगशालाले दिने सेवा सरल र छिटो–छरितो हुनेगरी क्षमता विस्तार गर्नुपर्ने, प्रयोगशालाबाट हुनसक्ने व्यक्तिगत सूचना चुहावट रोक्न भरपर्दो कानूनी व्यवस्था गर्नुपर्ने लगायतका सवाल उठाउनुभएको थियो । 

यसैगरी प्रतिनिधि सभाको आजको बैठकले मेलमिलापसम्वन्धी दोस्रो संशोधन विधेयक २०८३, नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक २०८३, निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ तथा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । 

यसअघि आजको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण पुगेको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले महाकाली नदीको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल, कालीगण्डकी करिडोर अन्तर्गतका मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पालगायतका जिल्लामा मोटरेबल पुल तथा सडकमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित क्षेत्रमा विद्युत्, सञ्चार र सडक सेवा सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै बैठकमा सांसदहरुले मनाङमा गएको हिउँ पहिरोमा परी हराइरहेकाहरूको  खोजी गर्न, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरण गर्न र बैङ्क खाता खोल्न नपाउँदा पोल्यान्डमा काम गर्ने नेपाली युवाहरूले भोगेको समस्या समाधानको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले चितवनको भरतपुरमा मानव बस्तीमा पसेर गैँडाले एक जनालाई आक्रमण गरी घाइते बनाएको भन्दै मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न, चाडपर्वका बेला बढेको बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्न, चाडपर्वका बेला सडकमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि बैठकको सुरुमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

सभामुख डोल प्रसाद अर्यालले समय दिएपछि श्रम, संस्कृति पार्टीका सांसद अम्बिकादेवी सङ्ग्रौलाले प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेर दिनुभएको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली असोज १५ गते बिहीबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button