दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर हो: मुख्यमन्त्री भट्ट

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताउनुभएको छ ।
महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किनुका साथै अन्य संरचनामा क्षति पुगेर आवागमन रोकिएपछि आज दिउँसो स्थलगत अनुगमनका क्रममा त्यहाँ पुग्नुभएका मुख्यमन्त्री भट्टले सिङ्गो प्रदेशको पर्यटकीय मेरुदण्डका रुपमा रहेको पुललाई अलपत्र पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“यो हाम्रो स्वाभिमान र पहिचानको प्रतीक हो । दोधारा–चाँदनीको आर्थिक स्मृतिसित जोडिएको पनि छ”, उहाँले भन्नुभयो, “पुल पुनर्निर्माणका लागि सङ्घ सरकार र प्रदेश सरकारबीच घनिभूत संवाद भइरहेको छ । यो पुल फेरि पनि गर्वको प्रतीक बनिरहोस् ।”
मुख्यमन्त्री भट्टले भत्किएको भागको पुनर्निर्माणका साथै प्राविधिक रूपले सुरुदेखि पुलको अन्तसम्मका सबै पिल्लर संरचना जाँच हुनुपर्नेमा जोड दिनुभयो । “यो पुलले व्यहोरेको पीडामा तपाईँहरूसित हामी एकाकार छौँ”, उहाँले भन्नुभयो, “सङ्घले पुनर्निर्माण गर्ने अवस्थामा प्रदेश सरकारले सबै प्रकारको वातावरण र सहयोग गर्नेछ । पुललाई जीवन्त राखेर अगाडि बढ्छौँ ।”
मुख्यमन्त्री भट्टसँगै अनुगमनमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल र आर्थिक मामिला राज्यमन्त्री जानकी बम ऐरलगायतको सहभागिता थियो । रासस







प्रतिक्रिया राख्नुहोस्