पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक वरिष्ठ नेताको हैसियतमा एमाले कार्यक्रममा

रुपन्देही । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफू अब पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित हुने बताउनुभएको छ।
एमालेले असोज ८ गते उहाँलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपनि आज मात्रै पहिलोपटक पार्टीको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको हो । मङ्गलवार रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उहाँले पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताउनुभएको हो। उक्त निर्णय एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरेको थियो।
उहाँले आफू राष्ट्रपतिको जिम्मेवारीमा पुगिसकेको र अब पदको हिसाबले त्यसभन्दा माथि जाने ठाउँ नरहेको बताउँदै राष्ट्र र जनताका लागि काम गर्ने आफ्नो इच्छा भने अझै रहेको बताउनुभयो।
‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन। राष्ट्रपति भइसकेँ, अब कहाँ जाने ? पदको हिसाबले माथि पुगेँ। अब जाने भनेको स्वर्ग हो,’ उहाँले भन्नुभयो, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ। त्यसैले यही पार्टीमा रहेर काम गर्छु।’
बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धका अभियानमा सहभागी भएको स्मरण गर्दै उहाँले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो। भण्डारीले विगतको वाम आन्दोलनका क्रममा आफूले विभिन्न समस्या भोग्नुपरे पनि राजनीतिक आस्था परिवर्तन नगरेको बताउनुभयो। पार्टी नेतृत्वबाट भएका गल्ती र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको बताउनुभयो। २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आएको उल्लेख गर्दै उहाँले त्यसपछि पार्टी एकता भङ्ग हुँदा विभाजन र क्षति व्यहोर्नुपरेको स्मरण गराउनुभयो। ‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो। नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने तत्त्वहरू पनि रहेको उल्लेख गर्दै उहाँले जनताको आस्था जबरजस्ती परिवर्तन गर्न नसकिने बताउनुभयो। जनताको विश्वास जितेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
भण्डारीले मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुने बताउँदै पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्नुभयो।
‘हामीले हाम्रो आवश्यकता के हो, जिल्लाको आवश्यकता के हो र राष्ट्रको आवश्यकता के हो भन्ने आधारमा एकता कायम गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
उहाँले एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै एमाले नै वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको पक्षमा अघि बढ्ने पार्टी भएको दाबी गर्नुभयो। ‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ। अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उहाँले भन्नुभयो। राष्ट्रिय विषयमा समेत एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने काममा केन्द्रित हुनुपर्ने बताउनुभयो।
‘हाम्रो राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने हो। पार्टीमा लागेर गर्ने त्यही हो। पार्टीमा लागेर अरू के गर्ने हो र रु’ उहाँले भन्नुभयो। उहाँले पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै पार्टीमा पुस्ताबीचको दूरी हुन नदिई सबै पुस्तालाई जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। ‘पार्टी जीवन पनि परिवारभन्दा फराकिलो हो। त्यसैले परिवारजस्तै पार्टीमा पनि पुस्ताबीचको दूरी राख्नु हुँदैन,’ उहाँले भन्नुभयो।
सामाजिक शिक्षाको मर्म पनि यही रहेको उल्लेख गर्दै भण्डारीले शान्तिपूर्ण परिवर्तनका लागि लामो यात्रा गर्नुपर्ने र त्यसका लागि निरन्तर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।








प्रतिक्रिया राख्नुहोस्