तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवसँग भारतका राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत श्री नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । 

उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पुर्‍याउनुभएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले हालैको विनाशकारी बाढीका कठिन घडीमा भारत सरकारद्वारा प्रदान गरिएको मानवीय तथा विपद् सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद् प्रभावित भारतीय नागरिक तथा पर्यटकहरूका परिवारजनप्रति गहिरो सहानुभूति र हार्दिक समवेदना प्रकट गर्नुभयो ।

राजदूत श्रीवास्तवको कार्यकालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारतको सहयोग, दीर्घकालीन विद्युत् व्यापार सम्झौता, द्विपक्षीय संयन्त्रहरूको सक्रियता तथा सहकार्यलाई उपराष्ट्रपति यादवले प्रशंसा गर्नुभयो । 

उपराष्ट्रपति यादवले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन पुर्‍याउनुभएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँको सुस्वास्थ्य र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।

राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्ध थप घनिष्ट बनेको उल्लेख गर्दै नेपाल र नेपालीको सम्झना सदैव रहने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button