तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

लमजुङ । मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । 

जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन् । 

बेँसीसहर नगरपालिका–१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो । नदीमा पानीको सतह र बहाव बढेर जोखिमको अवस्था आएपछि आयोजना आइतबार बिहानदेखि पूर्ण रूपमा बन्द गरिएको थियो ।

आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार उत्पादन बन्द गरेर आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास गरिएको थियो । नदीको बहाव सामान्य बन्दै गएपछि आज दिउँसोदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले नदीमा तत्काल कुनै जोखिमको अवस्था छैन । प्रमुख भट्टराईले ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनामा ३५-३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहेका बताउनुभयो । 

यसैगरी, मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना पनि आज बिहान ११ः५० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार आवश्यक प्राविधिक काम, सरसफाइ तथा अन्य व्यवस्थापन पूरा गरेपछि आज बिहान ११ः५० बजेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा सुरु गरिएको हो ।

मर्स्याङ्दी नदीमा पानीको बहाव बढेपछि दुवै आयोजनाले सुरक्षालाई प्राथमिकता दिँदै विद्युत् उत्पादन रोकेका थिए । नदीको बहाव घट्दै गएपछि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम पूरा गरी दुवै आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button