तपाईँ सुन्दै हुनुहुन्छः

कमजोर बन्दै न्यून चापीय प्रणाली  

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यतया वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ । 

अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव बिस्तारै कमजोर बन्दै जाने क्रममा रहेकाले जोखिम पनि घट्दै गइरहेको छ ।

यही असोज ९ गतेदेखि लगातार वर्षा हुँदा यहाँको जनजीवन प्रभावित भए पनि ठूलो जोखिम भने टर्दै गएको छ । 

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज दिउँसोदेखि न्यूनचापीय प्रणाली बिस्तारै कमजोर बन्दै गएकाले धेरै जोखिम नरहे पनि सतर्क रहनुपर्ने अवस्था भने कायमै रहेको बताउनुभयो ।

आज दिउँसो तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा मात्र हुने पूर्वानुमान रहेको उहाँले जानकारी दिनुभयो   । 

आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको पूर्वानुमान रहेको छ । 

आज रातिदेखि यहाँका हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी बुधबार भने यहाँका सबैजसो स्थानमा मौसम आंशिक बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने राति तराई क्षेत्रमा मुख्यतया सफा रहने पूर्वानुमान छ ।  

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button