तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त: कहाँ खुल्यो, कहाँ छ अवरोध ?

काठमाडौँ। बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

पूर्व–पश्चिम राजमार्गसहित छ सडक खण्डमा एकतर्फी र  आंशिकरुपमा यातायात सञ्चालनमा आएको छ । विभागका अनुसार  पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएकाले हाल एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर पूर्णरुपमा सडक सञ्चालनका लागि मेसिन परिचालन गरिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेको छ । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सो पहिरो हटाउने क्रम जारी छ ।

 बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातयात सेवा अवरुद्ध भएको छ । निरन्तरको  वर्षा र  पहिरो खस्ने क्रम नरोकिएकाले  आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ ।

यसैगरी, कान्ति राजमार्गको चपली र तकुर्चेलायत स्थानमा पहिरो झरेका कारण सवारी आवागमन बन्द रहेको छ । सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी, सोलु खोला नजिक सडक भासिदा भित्तो कटान गरी अस्थायी रुपमा सञ्चालन भएको छ ।

मध्यपहाडी राजमार्गस्थित बागलुङको घोडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान, चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाइ सडक एकतर्फी सञ्चालनमा ल्याइको छ । 

 कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा झरेको पहिरो वर्षा कारण पन्छाउन कठिनाइ भएको छ । यस्तै जैमिनी–८, बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी खुला गरिएको छ भने लामा दूरीका सवारीलाई हाल अनुमति दिइएको छैन ।

तमोर करिडोरको मुलघाट–फिदिम खण्डको छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध भएको छ । नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ ।

राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोटमा पहिरो झेरपछि सडक पूर्णरुपमा बन्द भएको छ ।

कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पहिरो कारण यातायात प्रभावित भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ ।

भालुवाङ–चकचके–लिवाङ सडकको विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ । साना सवारीसधान पूर्वावधानता सञ्चालनमा ल्याएको छ  भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ । यस्तै बेसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ढुङ्गा खसेकाले पहिरो पन्छाउन कठिनाइ हुँदा सडक पूर्णरुपमा बन्द भएको छ ।

विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाउन तथा यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न उपकरण तथा प्राविधिक प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button