बाजुरामा ऐतिहासिक ‘अनन्ते पर्व’ शुरु
बाजुरा । सुदूरपश्चिमको मौलिक लोकसंस्कृति र धार्मिक आस्थाको धरोहर मानिने ऐतिहासिक ‘अनन्ते मेला’ आइतबारदेखि बाजुरा लगायत सुदूरपश्चिमका केही जिल्लामा विधिवत् रूपमा सुरु भएको छ।

परापूर्वकालदेखि चल्दै आएको यो परम्परागत मेला आगामी तीन दिनसम्म सञ्चालन हुने छ।सदरमुकाम मार्तडीस्थित खुलामञ्चका साथै बडीमालिका नगरपालिका–५ मना, जुगाडा, पाण्डुसैनलगायत जिल्लाका विभिन्न ग्रामीण भेगहरूमा अनन्ते मेला भव्य रूपमा आयोजना गरिएको छ। सुदूरपश्चिमको विशिष्ट सांस्कृतिक पहिचान बोकेको यस पर्वका अवसरमा जिल्लाका सम्बन्धित स्थानीय तहहरूले सार्वजनिक बिदासमेत दिने गरेका छन्।
मेला अवधिभर हुनसक्ने सम्भावित झैझगडा र अप्रिय घटनालाई रोक्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मेलालाई व्यवस्थित गर्न शान्ति सुरक्षा चुस्तदुरुस्त बनाइने जानकारी दिनुभयो।
धार्मिक मान्यताअनुसार अनन्ते मेलालाई भगवान् श्रीकृष्ण, पाण्डव र अनन्त ९भगवान् विष्णु० को उपासनासँग जोडेर हेर्ने गरिन्छ। द्वापरयुगमा पाण्डवहरूले वनवासका क्रममा अनेक कष्ट भोग्नुपरेपछि भगवान् श्रीकृष्णको सल्लाहबमोजिम भाद्र शुक्ल चतुर्दशीका दिन ‘अनन्त व्रत’ बसेका र अनन्त भगवान् ९विष्णु० को निष्ठापूर्वक उपासना गरेपछि पाण्डवहरूले आफ्नो गुमेको राज्य तथा शक्ति पुनः प्राप्त गरेको धार्मिक विश्वास छ। सोही ऐतिहासिक र पौराणिक घटनाको स्मरण गर्दै अनन्त चतुर्दशीको अवसर पारेर बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा यो मेला मनाउने परम्परा बसेको हो।
अर्को स्थानीय किम्बदन्ती अनुसार, यो पर्वलाई सत्य र न्यायको विजय तथा आसुरी प्रवृत्तिको अन्त्यका रूपमा पनि लिइन्छ।
अनन्ते मेलाको मुख्य आकर्षण भनेको मिजुरा बजाउँदै मागल गाउनु तथा ‘चाँचरी’ र देउडा’ हो। निरन्तरको बर्षातले भने मेलालाई प्रभावित गरिरहेको स्थानीय रनसिंह साउँदले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्