तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको मिथिलामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, चार जनाको सकुशल उद्धार

जनकपुरधाम।अविरल वर्षाका कारण धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीमा पहिरो खस्दा घर पुरिएर एक महिलाको मृत्यु भएको छ।

पहिरोमा परी स्थानीय राजन श्रेष्ठको एकतले टायलको छानो भएको घर पुरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार बिहान करिब ९:१० बजे पहिरोले घर पुरिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर, मातहतका सुरक्षा निकाय तथा इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घरमा रहेका ५ जनामध्ये ४ जनालाई सकुशल उद्धार गरेको छ।

उद्धारका क्रममा राजन श्रेष्ठकी पत्नी करिब ३५ वर्षीया कमला श्रेष्ठलाई भने बिहान ११ बजे मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। मृतक कमलाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बर्दिबास, महोत्तरी पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले अविरल वर्षाका कारण पहाडी तथा नदी तटीय क्षेत्रमा जोखिम बढेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button